असार २६। गुल्मी, अविरल वर्षाका कारण पहिरो जाँदा विगत आठ दिनदेखि अवरुद्ध बनेको गुल्मीको रुद्रवेणी–वामिटक्सार सडकखण्ड शनिबार बेलुकादेखि सञ्चालनमा आएको छ ।
उक्त सडकखण्डको साहाघाट र जोहाङ सडकखण्डअन्तर्गत बादरे भिरमा सडकमाथि अड्किएको ढुङ्गालाई नेपाली सेनाले बम ब्लास्ट गरी विस्फोटन गराएपछि सडक सञ्चालन भएको हो ।
अवरुद्ध सडक सञ्चालन गर्न समस्या परेपछि जिल्ला प्रशासन कार्यालय, गुल्मीले कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौरलाई सहयोगका लागि पत्रमार्फत आग्रह गरेकोे थियो ।
जिल्ला प्रशासनको आग्रहअनुसार कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौरका प्राविधिक इन्जिनियर रेश्मीराज भट्टराईको नेतृत्वमा गएको नेपाली सेनाको टोलीले आठ दिनदेखि अवरुद्ध सडक सञ्चालन गरिएको इन्जिनियर भट्टराईले जानकारी गराए ।
गुल्मी जिल्लामा सबैभन्दा बढी सवारी साधन सञ्चालन हुँदै आएको अति व्यस्त उक्त सडक अवरुद्ध बनेपछि सयौँ सवारी साधन र यात्रु अलपत्र परेका थिए । सडक सञ्चालन भएपछि यतिबेला त्यस क्षेत्रमा अलपत्र परेका सयौँ सवारी साधन आ–आफ्नो गन्तव्यमा जान थालेका छन् ।








