किन गरे प्रचण्डले अस्ट्रेलिया भ्रमण रद्द ?

pushpa_kamal_dahal--621x414अस्ष्ट्रेलिया, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध अस्ट्रेलियामा उजुरी परेका कारण अन्तिम समयमा भ्रमण रद्द गरेको समाचार बाहिर आएको छ ।

दाहालविरुद्ध विगतमा भएको युद्धकालीन अवस्थाका पीडितले अस्ट्रेलियाका मुख्य राजनीतिक दलका प्रतिनिधिहरू, मानव अधिकारवादी संघसंस्था, एम्नेस्टी इन्टरनेसनल, मानव अधिकारसम्बन्धी वकालत गर्ने वकिलहरू र ठूला सञ्चार संस्थाहरूमा उजुरी गरेकाले उनले भ्रमण स्थगित गरेको तथ्य बाहिर आएकोछ ।

प्रचण्डले अस्ट्रेलिया उड्नु केही घण्टाअघि मात्र भ्रमण रद्द गरेका थिए । पार्टीगत कामका कारण भ्रमण रद्द गरेको बताइए पनि उनीविरुद्ध यहाँ सबैतिर उजुरी गरिएपछि विभिन्न आशंकाले भ्रमण रद्द गरेको हुन सक्ने अनुमान उनी सम्बद्ध व्यक्तिहरूले नै गरेका छन् । बिहीबार बिहान अस्ट्रेलियाको मेलबर्नमा अवतरण गर्ने भनिएका दाहालविरुद्ध तत्कालीन समयमा पीडित एक महिलाले उजुरी दिएकी थिइन् । उनको उजुरीमा दाहालले नेतृत्व गरेको माओवादी युद्धका कारण १६ हजारभन्दा बढी नेपालीले ज्यान गुमाएको र बलात्कार, अपहरण, यातनालगायत अपराध भएको उल्लेख गरिएको छ । उजुरीमा राष्ट्रसंघद्वारा जारी नेपाल सम्बन्धी रिपोर्टसमेत समावेश गरिएको छ । उजुरीमा ३२ जना अन्य नेपालीले सहमति जनाएका छन् ।

यता अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको प्रिमियरलाई एक व्यक्तिले इमेल लेखेर दाहालका विरुद्ध उजुरी दिएको सार्वजनिक भएको छ । उक्त उजुरीको जवाफ फर्काउँदै प्रिमियर माइक बेयर्डका एक कर्मचारी गायल मिचेलले यो विषय न्यु साउथ वेल्स प्रहरीलाई ध्यानाकर्षण हुनुपर्ने उल्लेख गर्दै सहायक प्रिमियर तथा न्याय तथा प्रहरी मन्त्री ट्रोय ग्रान्टलाई उक्त इमेल पठाइसकिएको लेखेकी छन् । स्थानीय एमएनटीभीले सार्वजनिक गरेको उक्त पत्रमा भिसा दिने निर्णय केन्द्र सरकारको भएकाले जानकारी गराइसकिएको छ । उक्त इमेल कसले लेखेको भन्ने बारेमा नखुलेको भए पनि दाहाल भ्रमणको ३ दिनअघि आदानप्रदान भएको हो ।

दाहालको भ्रमणको प्रबन्ध मिलाउन ४ दिनअघि अस्ट्रेलिया आएका माओवादीका अन्तर्राट्रियय विभाग सचिव युवराज चौलागाईंले आफूले यी कुरा केही मात्रामा सुने पनि यसमा सत्यता नभएको जिकिर गरे । दाहाल नेपालको प्रधानमन्त्री भइसकेको र द्वन्द्वकालीन समयमा भएका घटनालाई सुल्झाउन कानुन बनिसकेको अवस्थामा यी कुराले खासै प्रभाव नपार्ने उनको दाबी छ । अन्तिम समयमा आएर पार्टी र सदनको कार्यव्यस्तताले भ्रमण रद्द भएको तर्क उनले गरे ।

सम्बन्धित शिर्षकहरु