काबुलमा मारिएकालाई उचित क्षतिपूर्ति दिन एमालेको माग

krishnaअसार १० । काठमाडौँ, नेकपा (एमाले)ले केही दिनअघि अफगानिस्तानको काबुलमा आतकङ्कारी आक्रमणमा परी निधन र घाइते भएकालाई उचित राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको स्थायी कमिटीको बैठकले आप्रवासी नेपाली र विदेशमा काम गर्ने नेपालीको जीवन रक्षा, उनीहरुको पेसागत सुरक्षाका लागि उचित प्रबन्ध गर्न पनि सरकारको ध्यानाकर्षण गराएको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए ।

काबुलमा भएको आतङ्ककारी हमलामा १३ जना नेपालीसहितका विभिन्न देशका नागरिकको निर्ममतापूर्वक हत्या गरिएको घटनाको घोर निन्दा र भत्र्सना गर्दै बैठकले उक्त घटनामा जीवन गुमाएका सबैप्रति श्रद्धाञ्जलि तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । बैठकले घटनामा घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बैठकले घटनामा जीवन गुमाएका नेपाली नागरिकको शव ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाउने र त्यस घटनाका बारेमा जिम्मेवारपूर्ण ढङ्गले कूटनीतिक पहल गरेकामा नेपाल सरकारको प्रशंशा गरेको छ । बैठकले घटनामा जीवन गुमाएकाको परिवार तथा घाइतेलाई तत्काल राहात उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानआकर्षण गर्नुका साथै यसमा आवश्यक पहल गर्न सरकारसमक्ष आग्रह गरेको छ । यसका साथै बैठकले आप्रवासी कामदारको सेवा र जीवनको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेका बैठकले प्रदेश कमिटीलाई व्यवस्थित र प्रभावकारी बनाउन तथा तिनका संयोजक तोक्न सचिवालयलाई आवश्यक गृहकार्य गर्न जिम्मा दिएको छ । बैठकले पार्टीलाई प्रभावकारी र एकताबद्ध बनाउने गरी संयोजन तोक्न यही असार १२ गते स्थायी कमिटीको अर्को बैठक तय गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसद्मा अवरोध गरेको सन्र्दभमा सोधिएको प्रश्नमा नेता भट्टराईले प्रतिपक्षका आवाज सरकारले सुन्ने तर संसद् रोक्ने शैलीमा सहमत हुन नसकिने प्रतिक्रिया दिए। उनले राष्ट्रिय सहमतिका लागि आफूहरु तयार रहेको र सहमतिमा आउन काँग्रेसलाई आग्रह गर्दै आएको पनि स्मरण गराए ।

सम्बन्धित शिर्षकहरु