गोरखा । गोरखा जिल्लाको केरौंजा गाविस वडा नं. ९ यारु बगरमा नेपालकै पहिलो क्यान्टिलिभर पुल (ढुङ्गामा खोपेर बनाईएको पुल) बनाउने काम सम्पन्न भएको छ । नेपालमा नै पहिलो पटक सम्पन्न भएको १९५ मिटर लामो उक्त पुल चट्टानि ढुंगामा खोपेर बनाईएको छ । यही बैशाख २ गतेबाट सुरु गरिएको सो पुल जेठ २८ गते निर्माण कार्य पूरा भएको हो ।
पुल ४ करोड ५० लाखको लगानीमा निर्माण भएको छ। उक्त पुल निर्माण कार्यको लागि
सामर्थ नेपालको आर्थिक सहयोग स्विजरल्यान्डको प्राविधिक सहयोग, निर्माण व्यवस्थापन र बालाजु यन्त्रशालाबाट निर्माण सम्पन्न गरिएको हो । साथै, जिविस गोरखा र जिल्ला प्राविधिक कार्यालय गोरखाको प्रत्यक्ष निगरानि र अनुगमनमा पुल निर्माण भएको हो ।
पुल निर्माण कार्यको लागि सबै सामान हेलिकप्टरबाट ओसार पसार गरिएको थियो भने स्विजरल्यान्डबाट आएका प्राविधिकहरुले ३५ दिनसम्म सो स्थानमा बसि काम गरेका थिए । विनाशकारि भुकम्प पश्चात पहिरो र बाढिले गर्दा करिब एक बर्पादेखि यारु बगरको बाटो अवरुद्ध भएको थियो । सो पुल बनेपछि गोरखा जिल्लाका ७ गाविस सिर्दिवास, लो, प्रो, बिही, सामागाउँ, चुम्चेत र छेकम्पारवासीले राहत पाउने भएका छन् । जिल्लाको ७ वटा ठुला ठुला गाविस जोड्ने बाटोको रुपमा पुल निर्माण भएपछि गाउँको बिकासका अवसरहरु खुलेका छन् ।
सिर्दिवास –१ जगत निवासी बल बहादुर गुरुङले यारु बगरको पुल बनेपछि उक्त क्षेत्रको आर्थिक गतिविधि बढाउन सहयोग पु¥याउने बताए । स्थानियबासिको सहयोगमा पुल जोड्ने करिब ५० मिटर बाटोको निर्माण पनि सँग–सँगै सम्पन्न भएको छ । नेपालको प्रख्यात पर्यटकिय स्थल चुम उपत्यका तथा लार्केपास र मनास्लु हिमाल पदयात्रामा जाने उक्त बाटो बिग्रँदा पर्यटकिय गतिबिधिमा नकारात्मक असर परेको थियो । केरौंजा –९ यारु बगर निवासि गोपाल घलेले उक्त पुल निर्माण कार्य सम्पन्न भएपछि स्थानिय बासिन्दा तथा पर्यटकलाई ठुलो राहात मिलेको जानकारि दिए ।
माथिल्लो क्षेत्रको सामान बोक्ने एक मात्र स्रोत खच्चड सेवा अवरुद्ध हुँदा माथिल्लो क्षेत्रका बासिन्दा हेलिकप्टरबाट सामान ढुवानि गरि करिब दुई गुना महंगो खाद्य तथा अन्य उपभोग्य सामान प्रयोग गर्न बाध्य थिए ।








