युरोकप : आइसल्याण्ड पहिलो सहभागितामै नकआउट चरणमा

065a59b9-28a8-4c99-a607-268672369429एजेन्सी, पेरिस । अस्ट्रियालाई पराजित गर्दै आइसल्याण्ड फ्रान्समा जारी युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको समूहको अन्तिम खेलमा अस्ट्रियालाई २–१ ले पराजित गर्दै आइसल्याण्ड समूह एफको उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो ।

युरोकपमा पहिलोपटक सहभागिता भएको आइसल्याण्ड पहिलो सहभागितामै नकआउट चरणमा प्रवेश गरेको हो । पहिलो सहभागितामै अर्को चरणमा पुग्ने क्रममा आइसल्याण्डले दुई खेलमा बराबरी र एकमा जित निकाल्दै पाँच अंक जोड्न सफल भयो । अघिल्ला खेलमा आइसल्याण्डले पोर्चुगल र हंगेरीलाई समान १–१ को बराबरीमा रोकेको थियो । अस्ट्रिया भने प्रतियोगिताबाट बाहिरियो । अब आइसल्याण्डले अन्तिम १६ मा आउँदो सोमबार समूह बीको उपविजेता इंग्ल्याण्डसँग खेल्ने छ ।

स्टेड डी फ्रान्स रंगशालामा आइसल्याण्डलाई महत्वपूर्ण जित दिलाउन इन्जुरी समयमा आरनोर इनग्भी ट्रउस्तासनले निर्णायक गोल गरे । खेलको १८ मिनेटमा जोन डाडी बोड्भार्सनको गोलबाट आइसल्याण्डले सुरुवाति अग्रता लिएको थियो । तर ६० औं मिनेटमा एलेसान्ड्रो सोफले अस्ट्रियाका लागि बराबरी गोल फर्काए । त्यसअघि इन्जुरी समयमा आरनोरले गोल गर्दै आइसल्याण्डलाई महत्वपूर्ण जित दिलाए ।

यता, अस्ट्रियाले गोल गर्ने केही सुन्दर मौका गुमाएको थियो । बल पोजिसनमा पकड जमाएपनि अष्ट्रियाले गोल गर्न सकेनन् । त्यस्तै अष्ट्रियाले पेनाल्टीमा गोल गर्न सकेन । र अस्ट्रिया समूह चरणबाटै बाहिरिन बाध्य भयो ।

सम्बन्धित शिर्षकहरु