काठमाडौं । सिन्धुपाल्चोकको गिरान्चौरको एकीकृत बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरेले भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ स्थित गिरान्चौरमा एकीकृत बस्ती बनाइरहेको छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सिटी एक्सप्रेसले उनीहरूलाई उक्त रकम हस्तान्तरण गरेको हो।
कलाकारले समाजमा उदाहरणीय काम गरिरहेकाले हौसला दिन आर्थिक सहयोग गरेको संस्थाका प्रवन्ध निर्देशक चन्द्र टण्डनको भनाई छ ।
फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले सिटी एक्सप्रेसले हालसम्मकै उच्च आर्थिक सहयोग गरेको बताउँदै उनीहरूको आर्थिक सहयोगले काममा अझ हौसला मिलेको बताए ।
कार्यक्रममा बोल्दै फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले चार करोड भन्दा बढी अनुमानीत लागत रहेको बस्ती निर्माण गर्न हालसम्म ६० लाखको हाराहारीमा सहयोग जुटेको जानकारी दिएकी छिन् । सिटी एक्सप्रेसले गरेको जस्तै सहयोग अन्य संस्थाबाट पनि प्राप्त भएमा गिरान्चौरलाई सुन्दर बस्ती बनाउने सपना छिट्टै पुरा हुने उनले आशा व्यक्त गरेकी छन् । सबै जुटेर सहयोग गरेमा भूकम्प प्रभावित सबै जिल्लामा एउटा एउटा नमुना बस्ती बसाउन उनले अपिल समेत गरिन् ।








