स्थानीय निर्वाचनका लागि काँग्रेस तयार छ– डा कोइराला

hqdefaultकाठमाडौँ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय निकायको निर्वाचनका लागि आफ्नो पार्टी तयार रहेको बताएका छन्
नेपाल प्रेस युनियन राष्ट्रिय समाचार समिति (रासस) शाखाद्वारा सोमबार आयोजित ‘जिपी कोइराला क्रियाशील रासस पत्रकारिता पुरस्कार’ वितरण एवम् छलफल कार्यक्रमम नेता डा कोइरालाले काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले हरेक निर्वाचनका लागि सदैव तयार रहेको बताए । उनले संविधान कार्यान्वयन मुलुकको अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गर्दै भने, “सीमाङ्कन, मधेसी र आदिवासी/जनजातिका समस्या सबै मिलेर समाधान गर्नुपर्छ ।”

‘राज्य संरक्षित कालोबजारी भएकाले’ हालसम्म पनि अत्यावश्यक वस्तुको अभाव कायमै रहेको आरोप लगाउँदै डा कोइरालाले भने, “सरकार हरेक क्षेत्रमा असफल भएको छ, खोक्रो राष्ट्रियतामा देश चल्दैन ।”

प्रजातान्त्रिक शासन व्यवस्थामा राससको औचित्य झन् बढ्दै गएको उल्लेख गर्र्दै उनले निष्पक्ष समाचारका लागि सञ्चारकर्मीले आफ्नो विचारलाई बाहिर राखेर पेसागत मर्यादामा केन्द्रित हुनुपर्ने धारणा राखे । सञ्चारकर्मीलाई सरकारले दुर्घटना बिमा र गम्भीर प्रकृतिका रोगको उपचारका लागि छुट्टै कोष स्थापना गरी सहयोग गर्नुपर्ने उनको माग थियो ।

कार्यक्रममा राससका अध्यक्ष एवम् युनियनका पूर्वकेन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले विज्ञका सुझावका आधारमा राससलाई थप उचाइमा पुर्याउन आफू सदैव लागिरहेको विश्वास दिलाए ।

नेपाल पत्रकार महासङ्घ र राससका पूर्वअध्यक्ष तारानाथ दाहालले मुलुकको सञ्चार क्षेत्रका बारेमा अध्ययन अनुसन्धान धेरै भए पनि राजनीतिक अस्पष्टता र सरकारी इच्छाशक्तिको कमीले सञ्चार क्षेत्र समस्याग्रस्त रहेको बताए ।
राससका पूर्वअध्यक्ष एवम् महाप्रबन्धक पुरुषोत्तम दाहालले रासससम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सार्वजनिक संस्थाको सुधारका लागि दलीयकरणबाट मुक्त गर्नुपर्ने विचार व्यक्त गरे । राससका पूर्वप्रमुख समाचारदाता प्रा रामकृष्ण रेग्मीले कार्यपत्रमाथि टिप्पणी गर्दै सरकारले स्वायत्तता कायम राखी राससलाई पूर्ण सहयोग गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा युनियनका उपाध्यक्ष ईश्वरी ओझा, महासचिव अजयबाबु शिवाकोटी, राससका कार्यकारी सम्पादक एकराज पाठक, युनियनका केन्द्रीय सदस्यद्वय राजाराम कार्की र ठाकुर बेल्वासे, पत्रकार महासङ्घ राससका अध्यक्ष विष्णुप्रसाद नेपाल, युनियन राससका अध्यक्ष नारायण घिमिरे र सदस्य साहिँला तामाङले सञ्चार क्षेत्रका विद्यमान चुनौतीका बारेमा धारणा राखेका थिए ।

केन्द्रीय सदस्य कार्कीले प्रेस युनियन राससले स्थापना गरेको जिपी कोइराला क्रियाशील रासस पत्रकारिता पुरस्कारको अक्षयकोषमा जम्मा हुने गरी रु पाँच हजार रकमको चेक प्रमुख अतिथिमार्फत हस्तान्तरण गरेका थिए ।

‘जिपी कोइराला क्रियाशील पुरस्कार’ पाठकलाई
नेपाल प्रेस युनियन राससद्वारा स्थापित ‘जिपी कोइराला क्रियाशील रासस पत्रकारिता पुरस्कार’द्वारा राससका कार्यकारी सम्पादक एवम् अन्तर्राष्ट्रिय समाचार सम्पादन शाखा प्रमुख एकराज पाठक पुरस्कृत हुनुभएको छ ।

कार्यकारी सम्पादक पाठकले पुरस्कारबाट प्राप्त रकम युनियनका हालै अल्पायुमै निधन हुनभएका सचिव सूर्यकुमार क्षेत्रीका नाबालक छोराको अध्ययनका लागि सहयोग गर्नका लागि युनियन केन्द्रीय समितिलाई हस्तान्तरण गरे।
सम्मान पत्रसहित रु पाँच हजार ५५५ राशिको उक्त पुरस्कार युनियनको रासस शाखाले नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाका नाममा २०७२ सालमा स्थापना गरेको हो । यसअघि सो पुरस्कारबाट राससका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेत पुरस्कृत भएका थिए ।

युनियनले आजै राससमा १९ वर्षदेखि अस्थायी सेवामा कार्यरत पत्रकार एवम् कर्मचारीको स्थायित्व, वृत्तिविकास तथा राससको सेवालाई अनलाइनमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गरेका अध्यक्ष वाग्ले, महाप्रबन्धक निर्मला आचार्य, वरिष्ठ कार्यकारी सम्पादक सोमनाथ लामिछाने र कार्यकारी व्यवस्थापक उत्तम सिलवाललाई प्रमाणपत्र सहित सम्मान गरेको छ ।

 

 

 

 

 

 

 

आमसञ्चारमाध्यममा लगानीको स्रोतको वैधानिकता सुनिश्चितता गर्न सुझाव

काठमाडौँ। सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले सरकारलाई आज प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

समितिले मुलुकले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै जनताको जीवनस्तर उठाउन सहयोगी माध्यमका रूपमा सूचना तथा सञ्चार प्रणालीको विकास गर्नुपर्ने लगायत एक्काइसबुँदे प्रारम्भिक प्रतिवेदन सूचना तथा सञ्चारमन्त्री शेरधन राईसमक्ष प्रस्तुत गरेको हो ।

समितिले राष्ट्रिय हित र राष्ट्रिय एकताको प्रवद्र्धनद्वारा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समृद्ध सूचना समाजको निर्माण गर्ने सूचना तथा सञ्चार प्रणालीको विकास गर्न समेत आग्रह गरेको छ ।

सञ्चारमन्त्री राईले समितिले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा सरकारले सञ्चारसम्बन्धी ऐनकानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्ण प्रतिवेदनका निम्ति अझै समय रहेको हुँदा प्रारम्भिक प्रतिवेदनका आधारमा सबै पक्षलाई समेटेर अगाडि बढ्न समेत सरकारका प्रवक्ता राईले समितिलाई आग्रह गरे ।

प्रतिवेदन प्रस्तुत गर्दै समितिका अध्यक्ष काशीराज दाहालले करिब १०० बुँदामा तयार गरिएको पूर्ण प्रतिवेदन अबको एक दुई हप्ताभित्र आउने जानकारी दिए । आमसञ्चार तथा मिडियासम्बन्धी नीति बनाउने उद्देश्यले २०७२ साल माघ २० गते समिति गठन गरिएको थियो । समितिले फागुन ६ गतेदेखि काम सुरू गरेको थियो ।

“स्वच्छ र मर्यादित पत्रकारिताको विकासका निम्ति समाचारमाध्यमलाई पाठक, स्रोता र दर्शकले थाहा पाउने गरी लिखित रूपमा सार्वजनिक स्वनियमन, स्वमूल्याङ्कन र सम्पादकीय नीतिको सार्वजनिकीकरण गर्ने व्यवस्था गर्नुपर्ने छ”– प्रारम्भिक प्रतिवेदनमा भनिएको छ ।

समितिले आमसञ्चारमाध्यमको स्वतन्त्र रूपमा सञ्चालन र विकासका लागि लगानीको स्रोतको वैधानिकता एवम् आर्थिक पारदर्शिताको सुनिश्चितता गरी सञ्चारमाध्यममा राष्ट्रिय लगानीलाई प्रोत्साहन गर्न प्रस्ताव गरेको छ ।

त्यसैगरी पत्रकारिता पेसालाई व्यावसायिक र मर्यादित बनाउन आमसञ्चारसम्बन्धी अध्ययन, अनुसन्धान र प्रशिक्षणद्वारा सञ्चारकर्मीको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवम् उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न राष्ट्रिय आमसञ्चार प्रतिष्ठान स्थापना गर्न प्रस्ताव गरिएको छ ।
रेडियो नेपाल र नेपाल टेलिभिजनलाई राष्ट्रिय सार्वजनिक सेवा प्रसारण संस्थाका रूपमा रूपान्तरण गरी लोकतान्त्रिक मूल्यमान्यता र स्वतन्त्र पत्रकारिताको मर्मलाई आत्मसात् गर्न आग्रह गरिएको छ । समितिले सञ्चारमाध्यमलाई शिक्षा, सामाजिक उत्तरदायित्व विज्ञान तथा प्रविधि, पर्यटन ग्रामीण विकास तथा पूर्वाधार उपभोक्ता अधिकार तथा जनचेतना र सुशासनमूलक समाचार र सामग्री प्रकाशन तथा प्रसारण गर्न प्रोत्साहन गर्न आग्रह गरेको छ ।

समितिका अध्यक्ष दाहालले समितिको प्रस्तावलाई आगामी आव २०७३/०७४ मा समावेश गर्न तथा समाचारमूलक अनलाइन माध्यमलाई वर्गीकरण गरी अन्य समाचार माध्यमसरह सुविधा र नियमनको व्यवस्था गर्न सरकारसमक्ष आग्रह गरे।

सोही अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीले समितिले पेस गरेको प्रारम्भिक प्रतिवेदनले सञ्चार क्षेत्रको नियमन र विकासका लागि सहयोग पुर्याउने आशा व्यक्त गरे ।

 

सम्बन्धित शिर्षकहरु