भक्तपुर । नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सोकेशमा राखेको आकर्षक मिठाई भएको टिप्पणी गरेका छन् ।
रफत् सञ्चार क्लबले बुधबार भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नीति तथा कार्यक्रममा लागू हुन सके धेरै राम्रो हुने र नसके सोकेशकै मिठाई जस्तै हुने बताए ।
सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरे पनि स्थानीय निकायको निर्वाचन हुन नदिन ठूला राजनीतिक दललाई भारतले उपयोग गरेको आरोप लगाउँदै भारतले नचाहेसम्म स्थानीय निकायको निर्वाचन सम्भव नरहेको बिजुक्छेंको भनाइ थियो ।
नेपाल र भारतको तलब खाएर भारतको गुप्तचरका रुपमा रहेका करिब २२ हजार कर्मचारीलाई कारवाही नगरेसम्म कुनै पनि सरकारले काम गर्न नसक्ने भएकाले त्यस्ता व्यक्तिको पहिचान गरेर कारबाही गर्नुपर्नेमा उनले जोड दिए।
अध्यक्ष बिजुक्छेंले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णयलाई गलत मान्न नसकिने सही भएको बताएका छन् ।








