मड्रिड । वायर्न म्युनिखलाई पराजित गर्दै स्पेनिस क्लब एथ्लेटिको मड्रिडले च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुग्ने सम्भावना कायम गरेको छ । घरेलु मैदानमा बुधबार राति सेमिफाइनलको पहिलो लेगमा जर्मन क्लब वायर्न निखलाई १–० ले पराजित गर्दै फाइनल पुग्ने सम्भावना कायम गरेको हो ।
घरेलु मैदानमा एथ्लेटिकोको जितमा ११ औं मिनेटमा सउल निग्याजले गरेको सोलो गोल नै निर्णायक बन्यो । लगभग मध्य भागबाट बललाई एक्लैले अघि बढाएर वायर्नको डिफेन्स र गोल किपरलाई जिल्लाउदै निग्याजले सुन्दर गोल गरेका थिए । तर, खेलमा पहिलो हाफको सुरुवातमै गोल खाएपनि वायर्नले एथ्लेटिकोलाई दबाबमा राखेको थियो । पहिलो हाफमा १–० ले पछि परेको वायर्नले दोस्रो हाफमा केही राम्रा गोलको असवर सिर्जना गरेको भएपनि गोल भने गर्न सकेन । वायर्नका डविड अल्बाले खेलको ५५ औँ मिनेटमा प्रहार गरेको बल पोस्ट बारमा लागेर फर्कदा वायर्नले बराबरी गर्ने मौका गुमाएको थियो । यस्तै पहिलो हाफमा अटुरो भिडालको हेड प्रहार गोल रक्षकले बचाएका थिए ।
पहिलो लेगको जितसंगै एथ्लेटिकोलाई आउँदो मंगलबार वायर्नको मैदानमा हुने दोस्रो लेगमा केही सहज हुने देखिएको छ । र, दोस्रो लेगमा वायर्नलाई रोक्न सके एथ्लेटिकोले फाइनल यात्रा तय गर्ने छ । यो हारसंगै वायर्नलाई अब घरेलु मैदानमा निकै दबाब हुने छ । र फाइनल यात्रा तय गर्न दुई गोलबढी को जित निकाल्नुपर्ने हुन्छ । यस खेलको विजेताले उपाधिका लागि रियल मड्रिड वा म्यानचेस्टर सिटीसँग आउँदो मे २८ मा खेल्ने छ ।
बलियो प्रतिद्वन्द्वी बार्सिलोनालाई क्वाटरफाइनलमा हराएर अन्तिम चारमा पुग्न सफल एथ्लेटिको मड्रिडले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । यसपटक एथ्लेटिकोले राम्रो प्रदर्शन गरिरहेको छ । एथ्लेटिकोले अहिलेसम्म दुई पटकसम्म च्याम्पियन्स लिगको फाइनल खेलिसकेको छ । तर, दुवै पटक पराजित हुदै उसले उपाधि गुमाएको छ । एजेन्सी








