दिल्ली । घरेलु टोलि दिल्ली डेयरडेभिल्सलाई पराजित गर्दै गुजरात लाइन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शिर्ष स्थान कायमै राखेको छ । बुधबार राति भएको खेलमा गुजरातले दिल्ली डेयरडेभिल्सलाई एक रनले पराजित गर्यो ।
दिल्लीस्थित फिरोज शाह क्रिकेट मैदानमा गुजरातले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १ सय ७१ रन मात्र जोड्न सक्यो । दिल्लीका क्रिस मोरिसले अविजित ८२ जोडेपनि टोलीलाई जित दिलाउन सकेनन । मोरिसले ३२ बलमा ८ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यस्तै उसका जेपी डुमिनीले ४८ र ऋशभ पन्तले २० रन बनाए । गुजरातका धवल कुलकर्णीले तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय ७२ रनको योगफल तयार गरेको थियो । गुजरातको लागी ब्रेन्डम म्याकुलमले ६० तथा डवेन स्मिथले ५३ रन जोडे । त्यस्तै जेम्स फल्कनरले अविजित २२ रन बनाउदा दिनेश कार्तिकले १९ रन जोडे । दिल्लीका इमरान ताहिरले तीन तथा क्रिस मोरिसले दुई विकेट लिए ।
दिल्ली डेयरडेभिल्सलाई पराजित गरेसंगै गुजरात १० अंकसहित लिगको शीर्ष स्थानमा छ । सुरेश रैनाको कप्तानीमा रहेको गुजरातले लिगको ६ खेलमा पाँचमा जित र एकमा मात्रै पराजय बेहोरेको छ । यस्तै जाहिर खानको कप्तानीमा खेलेको दिल्ली ६ अंक सहित तेस्रो स्थानमा छ । दिल्ली पाँच खेलमा तीनमा जित र दुई पराजित भएको छ ।








