काठमाडौं। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनमा पूर्णरुपमा सहयोग गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।
अध्यक्ष दाहाललाई भेटन आज उनकै निवास लाजिम्पाट पुगेका नेता पौडेललाई संविधान निर्माणमा सहयात्री दलबीचको एकता र सहकार्यले मात्रै संविधानको कार्यान्वयन गर्न सहज हुने भन्दै सो आग्रह गरेका हुन्।
विभिन्न वाधा र अवरोध पन्छाएर प्रमुख दलको सहमतिमा नेपालको संविधान जारी गरिएको भन्दै अध्यक्ष दाहालले सीमाङ्कनलगायत मधेसवादी दलका तर्फबाट व्यक्त भएको असन्तुष्टिलाई सम्बोधन गर्न पनि ठूला दलको सहकार्य जरुरी रहेको उल्लेख गरेका थिए।
संविधानको पूर्ण कार्यान्वयन सबैको प्रमुख चुनौती भएकाले त्यसमा सबै दल लाग्नुपर्ने, सरकार र प्रमुख प्रतिपक्षी भनेर बस्ने अवस्था नभएकाले कांग्रेसलाई सहयोगको लागि अध्यक्ष दाहालले आग्रह गरेको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
अध्यक्ष दाहालको आग्रहमा नेता पौडेलले प्रमुख दलको सहमति नै राष्ट्रको प्रमुख आवश्यकता रहेको भन्दै त्यसमा सहयोग गर्न आफ्नो दल तयार रहेको धारणा राखेका थिए।
मुलुकको समस्या समाधानका लागि प्रमुख दलको सहमति अत्यावश्यक रहेको भन्दै नेता पौडेलले त्यसका लागि कांग्रेस बाधक नहुने बताएको उनका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।








