सरकारको कामबाट सन्तुष्ट छैनौँ– अध्यक्ष चन्द

RPP-Chairman-Lokendra-Bahadकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले सरकारको कामकारबाहीबाट आफ्नो पार्टी सन्तुष्ट नरहेको बताएका छन् ।

नयाँ वर्ष २०७३ को उपलक्ष्यमा पार्टीका महामन्त्री एवम् श्रम तथा रोजगारमन्त्री दीपक बोहराले आयोजना गरेका शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, राप्रपा सत्ता साझेदार दल भएपनि सरकारको कामप्रति सन्तुष्टि छैन ।

वर्तमान सरकारमा राप्रपाका तर्फबाट श्रम तथा रोजगार र वाणिज्य मन्त्रालयको जिम्मेवारी महामन्त्री दीपक बोहराले सम्हाल्दै आएका छन् ।

भूकम्पबाट आहत भएका जनतालाई सुशासनको अनुभूति दिलाउन सक्नुपर्नेमा त्यसमा सरकारको तर्फबाट कमजोरी भइरहेको बताउँदै अध्यक्ष चन्दले जनताको भावनालाई सम्बोधन हुनेगरी काम गर्न पार्टीका तर्फबाट सरकारमा सामेल मन्त्रीलाई बारम्बार निर्देशन दिँदै आएको उल्लेख गरे ।

जनताप्रति समर्पित असल र प्रभावशाली राजनीतिक दल बनाएर अघि बढ्ने सिलसिलामा राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच एकीकरण वार्ता चलिरहेको बताउँदै उनले आफ्नो पार्टीले सधैँभरि राष्ट्रियता, प्रजातन्त्र र उदारवादलाई जोड दिएर अघि बढ्ने प्रतिबद्धता जनाए।

शुभकामना आदानप्रदान समारोहमा पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर राणा, अध्यक्ष मण्डलका सदस्य डा प्रकाशचन्द्र लोहनी, महामन्त्री बुद्धिमान तामाङ, नीलकण्ठ उप्रेती तथा पूर्वमन्त्री सुनिलबहादुर थापालगायतको सहभागिता थियो ।

सम्बन्धित शिर्षकहरु