संविधान जारी हुनु २०७२ को सर्वोच्च उपलब्धि : राष्ट्रपति भण्डारी

bidhya-bhandariवैशाख १ । काठमाडौँ,  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको नयाँ वर्ष २०७३ को सुख्द अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा नयाँ उत्साह र उमङ्गसहित सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, सद्भाव, एकता, उत्तरोत्तर प्रगति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन्।

आज एक शुभकामना सन्देश दिँदै उनले नयाँ वर्षलाई स्वागत गर्ने क्रममा बितेको वर्ष २०७२ लाई सम्पूर्ण नेपालीको लामो समयदेखिको आफूलाई पूर्णरुपमा सार्वभौम बनाउने आकांक्षाको प्रतीक लोकतान्त्रिक गण्तन्त्र नेपालको संविधान जारी हुनु २०७२ सालको सर्वोच्च उपलब्धि भएको उल्लेख गरेकी छन् ।

विनाशकारी भूकम्प र त्यसपछिको अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको अवरोध सामना गर्नुपर्दा २०७२ सालमा सम्पूर्ण नेपालीले ठूलो पीडा र सास्ती भोग्न बाध्य भएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेकी छन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले राजनीतिक अभियानबाट हासिल ऐतिहासिक एवम् युगान्तकारी उपलब्धिसँगै नयाँ संविधानको कार्यान्वयनबाट मुलुकलाई सङ्घीय संरचनामा रुपान्तरण गर्दै आर्थिक सामाजिक समृद्धितर्फको यात्रा अगाडि बढाउने जिम्मेवारी अहिले सबै नेपालीको काँधमा आएको पनि उल्लेख गरेकी छन् ।

नयाँ वर्षको आगमनसँगै मुलुक नयाँ सोच, शैली र गन्तव्यसहित अगाडि बढ्नुपर्ने बेला आएकाले सहमतिसहित राजनीतिक स्थिरता, नयाँ संविधानको कार्यान्वयन संवाद र सहमतिबाट हुनुपर्ने राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेकी छन्।

राष्ट्रपति भण्डारीले विनाशकारी भूकम्पले पारेको प्रभावलाई न्युनीकरण गर्न राष्ट्रिय अभियानका रुपमा चलाइने पुनःनिर्माण र नवनिर्माणलाई प्रथमिकता दिई पीडित जनताको जीवनलाई सामान्यीकरण गर्न तथा देशले भोग्नुपरेका अन्य समस्याको समाधानका लागि सरकार, राजनीतिक दल, सङ्घसंस्था एवम् निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नुपर्ने पनि सन्देशमा उल्लेख गरेकी छन् ।

 

सम्बन्धित शिर्षकहरु