मुलुक नयाँ युगमा प्रवेश : सभापति देउवा

sher-bahadur-deubaवैशाख १ । काठमाडौँ, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा आफ्नो र पार्टीका तर्फबाट सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिकालागि शुभकामना व्यक्त गरेका छन् ।

नयाँ बर्षको उपलक्ष्यमा आज एक शुभकामना सन्देश दिँदै सभापति देउवाले संविधानसभाबाट संविधान जारी भएसँगै मुलुकमा नयाँ युग प्रारम्भ भएको उल्लेख गर्दै संविधानसभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेसंगै नेपाली जनताको छ दशकको चाहना पूरा भएको उल्लेख गरेका छन्।

उनले तराई मधेसको असन्तुष्टिलाई सम्बोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कार्यान्वयन गरी मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर बनाउन सबै एकजुट हुनु जरुरी रहेको पनि उल्लेख गरेका छन्।

२०७२ सालको प्रारम्भदेखि नै नेपालीले भोगेको विनाशकारी भूकम्प र आपूर्ति असहजताका कारण कठिन बनेको नेपालीको दैनिक जीवन हालसम्म पनि सामान्य बन्न नसकेको बताउँदै उनले यो अवस्थालाई अन्त्य गर्न वर्ष २०७३ को प्रारम्भसँगै मुलुकका सम्पूर्ण राजनीतिक दलहरू तथा जिम्मेवार निकायहरू, मुलुकवासी र सम्पूर्ण लोकतन्त्रवादी शक्ति एक भएर दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर सिङ्गो मुलुकलाई एकताबद्ध बनाएर अगाडि बढ्नु आजको आवश्यकता भएको उल्लेख गरेका छन् ।

यसैगरी, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नववर्ष २०७३ को अवसरमा स्वदेश तथा विदेशमा रहेएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

आज एक शुभकामना सन्देश दिँदै उनले सामाजिक, साँस्कृतिक विविधताले सम्पन्न मुलुकवासीले गतवर्ष भोग्नुपरेको प्राकृतिक प्रकोप, असहज र कठिन दैनिक जीवन हालसम्म पनि सामान्य बन्न नसकेको उल्लेख गर्दै यस्तो परिस्थितिमा नयाँ वर्ष २०७३ को प्रारम्भसँगै मुलुकका सम्पूर्ण राजनीतिक दलहरू तथा जिम्मेवार निकायहरू मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्नुपर्ने बताएका छन्।
 

सम्बन्धित शिर्षकहरु