के लोग्नेलाई रातभर सम्भोग गराउन सम्भव छ ?

नेपाली भाषा साहित्यमा नारीवादी साहित्यकार कृष्ण धारावासी एकाएक अराजक पुरुषवादी भए । नेपालमा वाद अँगाल्नु भनेको पाखण्ड देखाउनु हो भन्ने चर्चित साहित्यकार धारावासीले पनि देखाइदिए । राजनीति गर्नेहरुले माक्र्सवाद, लेनिनवाद, माओवाद, समाजवाद, उदारवाद, पूँजीवादका नारा घन्काएर व्यक्तिवाद पोषण गरेजस्तै धारासावीले अब मैले जे पस्किए पनि हिट हुन्छ भन्ने ठाने र लेखे महिलामाथि कठोर प्रहार गर्दैै लेख, नागरिक दैैनिकमा ।

पुरुषको पक्षमा लेख्नु त ठीकै हो, तर जसरी महिलालाई पाताल पुर्याए लेखियो त्यो घोर आपत्तिजनक भन्दै टिप्पणी भए । यसको खण्डनमा धाराबासीको अर्को लामो लेख पक्कै आउनेछ र उनले समाजले आफ्नो यथार्थ कुरा पचाउन नसकेको भन्दै आगो ओकल्नेछन् । तर, उनले बुझ्नुपर्ने कुरा के हो भने नेपाली समाजको एउटा ठूलो हिस्साा सेत युवावर्ग, जो संसारका हरेक कुनामा पुगेका छन् उनीहरुको चेतनाको स्तर नापेर मात्रै आफ्ना मनोगत कुरा पस्कनु वेश होला ।

धरावासीले लेखमा महिला मात्र पीडित छैनन, पुरुष पनि पीडित छन् भन्ने देखाउन खोजेका हुन्, यसमा केही सत्यता छ , तर उनले लेखे जस्तै छ त नेपाली समाज । उनीहरु जस्ता साहित्यकारले चर्चामा आउनकै लागि लेख्ने साहित्यमा बुनिएको जस्तो पनि छैन नेपाली समाज । कलाकारको चित्र, राजनीतिकर्मीको भाषण र साहित्यकारको सिर्जनाले कति वास्तविकता बोकेको हुन्छ भन्ने सबैलाई थाहै छ ।

धरावासीको उक्त लेखमाथि नागरिक दैनिकमा भएका टिप्पणीको केहीझलक पेश गरिएको छ-

एउटा सन्दर्भ- ‘हरेक विहान बुहारीका कोठा(आफ्नो कोठा ?)बाट थकित भएर बाथरुम छिरेको छोराले रातभरि कति दुःख पायो होला भनेर कुनै आमाले कल्पना गर्छन? उनीहरु त बुहारीको पेट बढेको देखेपछि छोरालाई पुलुक्क हेरेर हाँस्छन् मात्र’। बहुविवाहको प्रसंगमा उनले लेखेका छन्, ‘कुनै पुरुषले बहुविवाह गर्दा उसंग घरमा स्वास्नी हुँदाहुँदै बिहे गरेर अर्की स्वास्नी हुन आउने महिलाको कुनै दोष हुँदैन? तिनले अनेक आकर्षक आश्वासन, नखरा वा प्रेमको नाटक नगरी कुनै पुरुष तिनका नजीक पुग्ला?’ अर्को —’जीवनभरि अत्यन्त कठोर परिश्रम गरेर खाइनखाई जोडेको सम्पति आफ्नो कुनै लगानीबिनै स्वास्नी भएको कानूनी आधारका कारण आधा चर्लक्कै छुट्याएर लिएर गइरहेकी महिलालाई पछाडिबाट हेरिरहेको छैन हाम्रो समाज?’

त्यस्तै ‘एक उत्तेजनाबाट सिथिल भएको पुरुष अर्कोपल्ट तत्कालै संभोगका निम्ति तयार नभएको अवस्थामा उसमाथि महिला साथीबाट हुने अत्याचार सामान्यतया बाहिरै आउँदैन।’ सबैभन्दा आपत्तिजनक छ, ‘महिलाले चाहनेवित्तिकै कानूनले छुट्याइदिने, तर पुरुषले चाहेमा छुट्टिनै नसकिने कानून बनेपछि त्यो महिलाबाट मुक्त हुन पुरुषले तिनलाई मन्द विष खुवाएर, दुर्घटनामा पारेर, घाँटी थिचेर, आत्महत्याको विधि प्रमाणित गराएर भएपनि मारेर मुक्ति लिनु परेन? के पुरुषलाई सामाजिक र कानुनी रुपमै अत्याचारी बन्न बाध्य पारेको छैन?’

धरावासीका अनुसार रातभरको यौनसम्पर्क छोराचाहिं अर्थात पतिका लागि अत्यन्त कष्टपूर्ण काम हो। के यस्तो साँचिकै हो? के हरेक पतिले पत्नीलाई गर्भवती बनाईदिनकै लागि पत्नीचाहिंको अस्वाभाविक मागकै कारण रातभरि सकी–नसकी यौनसम्पर्क गरिरहने हुन्? एउटी नेपाली पत्नी गर्भवती हुनुमा उसको लोग्नेको ‘दुःख’ ठूलो हुन्छ कि गर्भवती हुन नसकेकामा उसले भोग्ने सामाजिक–पारिवारिक लान्छना? अझै आमाले रातभरिको छोराको दुःख थाहा नपाउने, बुहारीको बढेको पेट देखेर हाँस्ने भन्ने उनको हरफको वैज्ञानिक आधार के हो? एक रातमा कतिपटक यौनसम्पर्क गरेपछि गर्भ रहने हो? यो सम्पूर्ण नेपाली छोराहरुको कथा हो कि धराबासीको व्यक्तिगत अनुभव मात्रै हो? के नेपाली महिला यौनको मामलामा त्यति धेरै ‘डिमाण्डिङ’ बनिसकेका हुन्? के यौनको मामलामा नेपाली पुरुष साँच्चिकै पीडित हुन थालेको सामाजिक अवस्थाको शुरुआत भइसकेको हो? त्यसो भए नेपालमा महिलामाथिको वैवाहिक बलात्कारको कानूनी व्यवस्था अब खारेज गरिनुपर्ने बेला आइसकेको हो?

धरावासीले भनेजस्ता अनेक आश्वासन, नखरा वा प्रेमको नाटक गरेर अर्की स्वास्नी हुन आउने कथा नेपालका कतिजना महिलाको हो? नेपाली समाजका कतिजना महिलालाई विवाहको निर्णय आफैं गर्ने अधिकार छ? छोराछोरी नजन्माएको भन्दै पत्नीभन्दा बढी उसको कोखको मूल्य तोकेर पहिलीलाई मिल्काउँदै दोस्रो वा तेस्रो विवाहसमेत गरिने समाजकी ‘अर्की स्वास्नी’लेे कुन नखरा पार्छे? सम्बन्धविच्छेद वा विधुर भएका पुरुषले कति छिटो र कति कलिला महिलासंग दोस्रो विवाह गर्छन् तर के त्यही अनुपातमा महिलाको पुनर्विवाह संभव छ?

‘पत्नी भएकै आधारमा बिना लगानी आधा सम्पत्ति छुट्टयाएर लिएर जाने’ जस्तो वाक्य प्रयोग गरेर धराबासीले आजसम्म आफूले नारी संवेदनाका बारेमा लेखेको दाबीलाई सर्लक्कै पखालेका छन्। एउटी पत्नीले जीवनभरि पतिको घरमा बेतलबी कजिने, शरीरले सकुन्जेल हाड घोट्नुपर्ने तर बिरामी वा सुत्केरीजस्तो गाह्रो शारिरीक अवस्था हुनासाथ माइत पठाइने, तंग्रिएपछि फेरि फर्केर घोटिनुपर्ने जस्तो सामाजिक अवस्था हाम्रै देशको हैन? विश्वभरि महिलाले गर्ने घरेलु श्रमको अवमूल्यनको मुद्धा यति चर्कोसंग उठिरहेको छ। यस्तोमा पतिले घरबाहिर काम गरेर जोडेको सम्पतिमा जीवनभरि उसको घरभित्र बिना पारिश्रमिक दैनिक १८ घन्टासम्म श्रम गरेकी पत्नीको कुनै लगानी वा अधिकार हुँदैन जस्तो पुरातन र असमानतावादी सोच भरिएको कुरा लेख्न सक्ने धरावासीले कसरी आफूलाई नारीहरुप्रति संवेदनशील लेखक भनेर भन्न सक्छन्?

एकचोटि स्खलित भएपछि दोस्रोपटक ‘तयार’ नहुन्जेल जबरजस्ती गर्ने महिलाबाट पीडित पुरुष भनेर धरावासीले उल्लेख गरेका पुरुष कतै अस्तित्वमा छन् नेपाली समाजमा वा यो प्रसंग पनि उनको काल्पनिक रचना हो? शायद यही पुरुष ‘तयार’ नभइकन यौनसम्पर्क संभव नै छैन भनेर नै पो हो कि केही वर्षअघि सर्वोच्च अदालतले ‘पुरुषमाथि पनि बलात्कार हुन्छ’ भनेर परेको रिटलाई ‘हुन सक्दैन’ भनेर खारेज गरिदिएको? लेख्नुअघि उनले कुनै कानूनका ज्ञातासंग यसबारेमा सोधे? सोधेका भए उनलाई पक्कै कसैले भनिदिने थियो, ‘महिलाले माग्नेबित्तिकै पारपाचुके पाउने कानूनी व्यवस्था समानताको सिद्धान्त विपरीत भयो’ भनेर परेको रिटसमेत नेपाली समाजमा महिला र पुरुषको अवस्था समान नभएकै कारण विशेष परिस्थितिमा बाहेक यही प्रावधान कायम रहने भन्दै सर्वोच्च अदालतले खारेज गरिदिइसकेको छ। धरावासीले भनेजस्तै यो कानूनी व्यवस्थाको फाइदा उठाउने महिला पनि होलान् तर कतिजना छन्? यत्ति नै उनलाई माग्नेबित्तिकै पारपाचुके नपाउनाले पुरुष स्वास्नी मार्न बाध्य हुन्छ भनेर लेख्ने आधार कसरी बन्यो?

हरेक देशका यस्ता कानूनी व्यवस्था संबन्धित देशको समाजका लैंगिक असमानताका अनुपात र सामाजिक संवेदनशीलतालाई ध्यानमा राखेर निर्माण गरिएका हुन्छन्। जसरी ‘सीमा संवेदनशीलतालाई ध्यानमा राखेर’ भन्ने दुहाई दिंदै सम्पूर्ण नेपाली महिलालाई पूर्ण नागरिकको मान्यता दिइएको छैन। ‘यी सबैले बिहारीसंग नै बिहा गरेर बिहारी जन्माउँछन्’ भनेर उनीहरुको कोखसमेतलाई आरोपित गरिएको छ। यति घिनलाग्दो लान्छना समेत उनीहरु सहेर बसेका छन्। पत्नीले माग्नेबित्तिकै पारपाचुके पाउने कानून पनि यस्तै कुनै संवेदनशीलताको आधारमा बन्यो होला’ कि भनेर धरावासीले कतै बुझ्ने कोशिस गरे? यही कानूनी व्यवस्था मात्रकै आधारमा कुनै पत्नी मारिनलायक हुन्छे? देशका मूर्धन्य कानूनवेत्ताहरुले बनाएको असमान कानून (धराबासीको विचारमा) को मूल्य एउटी पत्नीले आफू मारिएर चुकाउनुपर्ने? यसबारेमा उनका केही असहमति थिए भने उनले सभ्य भाषामा असहमति मात्रै व्यक्त गर्न सक्थे। विष खुवाएर, घाँटी थिचेर, दुर्घटनामा पारेर, आत्महत्याको विधि प्रमाणित गराएर जसरी भए पनि मारेर छुटकारा लिनु परेन भन्ने छुट उनलाई कसले दियो? दुःख दिने स्वास्नीलाई मारिदिन पाइन्छ भन्नेसम्मका क्रूर हरफहरु उनले कुन हैसियतका आधारमा लेख्न सके? दुःख दिएकैमा मार्दै हिंड्न पाइने भए नेपाली समाजमा पति धेरै मारिनुपर्थ्यो कि पत्नी? कुनै अध्यययन गरेका छन् कि उनले यसबारेमा? खुल्लमखुल्ला हत्यालाई बढावा दिने खालको लेख लेखेर धरावासीले अभिव्यक्ति स्वतन्त्रताको नांगो दुरुपयोग गरेका हैनन्? सामाजिक र कानूनी व्यवस्था मन नपर्दैमा मान्छे मार्न पाइन्छ भनेर उनले कानूनी राज्यको अवधारणालाई चुनौती दिएका हैनन्?

काल्पनिक लेखनकोे हर्ताकर्ता त आफैं भइने हुनाले त्यसमा चाहिने जति आँशुको मात्रा आफैं अड्कले हुन्छ, कतिसम्म ‘मेलोड्रामा’ गर्दा पाठकले कतिसम्म आँशु झार्लान् भनेर। तर साहित्यकारले बुझ्नुपर्ने कुरा हो कि दैनिक पत्रिकाका छापिने सामाजिक यथार्थपरक लेख फरक हुन्छन्। यस्ता लेख तथ्यमा आधारित हुनुपर्छ। लेखकले फरक छुट्टयाउन सक्नुपर्छ। अष्ट्रेलियामा पिएचडी गरिरहेकी साथी नीति अर्याल खनालले फेसबुकमा लेखेकी छन् ‘दशौंवटा स्रोतमाथि घोत्लिएर मैले लेखेका एक–एक हरफले पनि मेरा सुपरिवेक्षकका दशौं प्रश्नको सामना गर्छन्। तर कोही नेपाली लेखकले कति सजिलै हत्यालाई समेत छुट दिन सक्छन् यो देखेर मेरो रगत रिसले उम्लेको छ। ‘ओपेड लेखन’ गम्भीर काम हो भनेर सिक्नका लागि उनीहरुलाई ‘क्रयास कोर्ष’को आवश्यकता छ।’ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका अध्यापक डा. वसन्त गौतमले लेख्नुभएको छ , ‘कहलिएका’ लेखकको लेख यति तुच्छ चिन्तनको आधारभूमिमा उठेको होला भन्ने लागेको थिएन। हाँसेर उडाउन लायक रहेछ प्रतिक्रिया दिन मन लागेन।’

आफ्नो व्यक्तित्वको प्रभावकै आधारमा जस्तासुकै प्रलापलाई पनि पाठकले स्वीकार्लान् भनेर उनीजस्ता ‘प्रसिद्ध’ लेखक सोच्छन् भने त्यो उनीहरुको भ्रम हो । माफ गर्नुहोला धरावासीज्यू ‘वरिष्ठ लेखक’ भएकै कारण तपाईंले मान्छे मारिदिन पाइन्छसम्म भनेको कुरालाई चुपचाप स्वीकार्न सकिएन । फेरि पुराना पुस्ताको गलत कुरालाई गलत भन्न नसके नया पुस्ता हुनुको के अर्थ? नयापुस्ता त तथ्यगत तर्कमा विश्वास गर्छ भन्ने मेरो विश्वास छ। तपाईंको लेख तथ्यहीन र त्यसमा पेश गरिएका तर्कहरु हास्यास्पद छन् भन्ने तर्क हामी निर्धक्क गर्न सक्छौं ।

भन्नैपर्ने कुरा के हो भने साहित्यकार समाजका ऐना हुन्, उनीहरुले समाजको सही चित्र दर्शन गाउनुपर्छ । तर धारावासीले समाजको चित्र भन्दै आफ्नै मनको कुरा थोपर्ने प्रयास गरेका छन् । उनको लेखका सन्दर्भहरु असत्य नहोलान् । एकाध त्यस्ता घटना पनि होला । तर पुरुषप्रधान समाज भनेर आफंले गहन गहन उपन्यास लेख्ने धाराबासीले कसरी त्यस्तो कल्पना गर्नसके गर्भवती हुनकै लागि श्रीमतीले श्रीमानलाई रातभर सम्भोग गराइरहन्छिन् । के शारीरिक क्षमताकै आधारमा पनि त्यो सम्भव छ ?

नेपालजापान डटकमबाट अनुिदत

सम्बन्धित शिर्षकहरु