काठमाडौं । नेकपा (एमाले)को पोलिव्यूरो बैठक आज बस्दैछ । दिउँसो तीन बजे पार्टी मुख्यालय धुम्बाराहीमा बोलाइएको बैठमा समसामयिक राजनीतिक अवस्था समेटिएको पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र अन्य सांगठनिक प्रतिवेदनहरू पेश हुने कार्यसूचि रहेको बताइएको छ । यद्यपी बैठकको कार्यसूचि भने बिहान ११ बजे बस्ने स्थायी कमिटीको बैठकले टुंग्याउने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
“अहिले सचिवालयको बैठक बसिरहेको छ”, उनले भने, बिहान ११ बजे बस्ने स्थायी कमिटीको बैठकले कार्यसूचि तय गर्नेछ ।”
३२ वटा केन्द्रीय विभागलाई पूर्णता दिन गृहकार्य भइरहेकाले पोलिटब्यूरो बैठक अघि बस्ने स्थायी कमिटीले टुंगो लगाएर पोलिटब्यूरोमा पेश गर्ने तयारी भइरहेको स्रोतले बतायो ।
नवौं महाधिवेशन भएको करिव २१ महिनापछि दोस्रोपटक पोलिटव्यूरो बैठक बस्न लागेको हो । छलफल बिना नै विभागका लागि नामावली प्रस्तुत गरिएको भन्दै बरिष्ठ नेता माधव नेपाल पक्षले असन्तुष्टि जनाएपछि यसअघि बसेको स्थायी कमिटीको बैठकले विभाग र सल्लाहकार कमिटीलाई पूर्णता दिन सकेको थिएन ।








