किन हानिन् सन्नीले पत्रकारलाई झापड ?

एजेन्सी । सेलिब्रेटीले संयम गुमाउँदा कहिलेकाहीँ दुर्घटना हुन्छ। बलिउड अभिनेत्री सन्नी लिओनलाई पनि त्यस्तै परेको छ।

एक कार्यक्रममा उनले पत्रकारलाई थप्पड लगाएको आरोप लागेपछि सन्नीको आलोचना भएको छ। भारतको गुजरातस्थित सुरत सहरमा आयोजित कार्यक्रममा प्रश्न सोध्ने एक पत्रकारलाई थप्पड लगाएको समाचार सार्वजनिक भयो।
समाचारअनुसार पोर्न अभिनेत्रीबाट बलिउडमा प्रवेश गरेकी सन्नीलाई एक पत्रकारले उनको रेट सोधेका थिए। पत्रकारले ‘रातिको कार्यक्रमको कति चार्ज लिनुहुन्छ?’ भनेर प्रश्न सोधेपछि सन्नीले आक्रोशित भएर थप्पड लगाएकी थिइन्।

मुम्बईबाट प्रकाशित हुने मिड डे पत्रिकामा प्रकाशित समाचारअनुसार होटेलको कोरिडोरमा भएको यो घटनापछि सन्नीले कार्यक्रम आयोजकलाई पत्रकार नभएको ठाउँमा मात्र आफ्नो प्रस्तुति रहने बताएकी थिइन्। घटनापछि उनले सुरतमा आयोजित ‘प्ले होली विथ सन्नी लियोन’ नामको कार्यक्रममा १५ मिनेटमात्र नृत्य प्रस्तुत गरेकी थिइन्।

घटनाको समयमा सन्नीका पति डेनियल वेबर पनि सँगै थिए। घटनापछि बिहीबार डेनियलले मिड डेसँगको अन्तर्वार्तामा भने, ‘सन्नीले पत्रकारलाई उचित जवाफ दिएकी हुन्, हामी घटनालाई लिएर प्रहरीमा गएनौं।’ सन्नीले अब गुजरातमा कार्यक्रमका लागि जानुअघि हजारपटक सोचेरमात्र निर्णय लिने उनले बताएका छन्।

तर सन्नीले भने सञ्चारमाध्यममा प्रकाशित समाचार झूठो भएको ट्विट गरेकी छन्। यस्तै डेनियलले शुक्रबार भने हफिङ्टन पोस्ट्सँग कुरा गर्दै समाचार झूठो भएको बताएका छन्।’त्यहाँ केही पनि भएको होइन, हामी गुजरात गयौं र कार्यक्रम सकेर फर्कियौं’, उनले भनेका छन्, ‘त्यहाँ कुनै पत्रकार थिएनन्।’

आफूलाई उद्धृत गरेर लेखिएको समाचार पनि गलत भएको उनको दाबी छ।’होटलको सुरक्षाव्यवस्था एकदमै कडा थियो’, उनले भनेका छन्, ‘त्यहाँ कोही पनि गएर उनलाई प्रश्न सोध्ने सम्भावना थिएन।’

सम्बन्धित शिर्षकहरु