काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य बालकृष्ण खाँडले अबको सरकार पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले सबैभन्दा ठूलो दलको नेतृत्वमा नभए दह्रो सरकार बन्न नसक्ने भन्दै अबको सरकार बन्दा ठूलो पार्टीको सभापतिको हैसियतले देउवाले नै नेतृत्व गर्ने दावी गरेका हुन् ।
साक्षात्कारमा खाँडले भने, “काग्रेसभित्र एक ब्यक्ति एक पदको कुरा उठ्ने गरे पनि पूर्व सभापति सुशील कोइराला पार्टी सभापति, संसदीय दलको नेता र प्रधानमन्त्री बनेर संविधानको नेतृत्व गर्नु भयो । अब पनि शेरबहादुर देउवा नै संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्नु हुन्छ ।”
उनले राष्ट्रिय सहमतिको सरकार विना मुलुक अघि बढ्न नसक्ने दावी गर्दे सहमतिको सरकारकोलागि प्रधानमन्त्री केपी शर्मा ओलीले मार्ग प्रसस्त गर्नु पर्ने धारणा राखे । उनले भने, “ यो सरकारमा काग्रेस कुनै पनि हालतमा जाँदैन ।”
खाँडले ओली नेतृत्वको सरकार अप्राकृतिक गठबन्धन र कमजोर जगमा बनेकोले यो आफ्नै अन्तर्विरोध र बोझले ढल्ने दावी गर्दै भने, “संविधान मान्ने, राजतन्त्र ब्यूँताउने, संघीयता नस्वीकार्ने दलहरुको अप्राकृतिक गठबन्धनले बनेको सरकारमा मेल खाँदैन । हाम्रो सरकार परिवर्तन गर्ने लक्ष्य छैन तर हामीले निर्णय गर्नु भन्दा अघि यो सरकार ढल्छ ।”
उनले बजार जाँदा सरकार छ कि छैन भन्ने स्थिति रहेको, विकास ढप्प भएको, संबैधानिक समस्या समाधान गर्न नसकेकोले पनि सरकार असफल भएको दावी गरे ।
खाँडले प्रधानमन्त्रीको चीन भ्रमण सफल होस भन्ने आफूहरुको चाहना भए पनि भ्रमणबाट ठूलो उपलब्धि हात लाग्ने स्थिति नदेखिएको भन्दै भ्रमणको विषयमा प्रधानमन्त्रीले राष्ट्रिय सहमति गर्नु पर्ने सुझाव दिए ।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्रीको चीन भ्रमणमा ब्यापार तथा पारवहन, ईन्धन र उर्जा लगायतका सम्झौता हुने भन्दै प्रधानमन्त्रीको चीन भ्रमणलाई भारत भ्रमण जसरी नै उपलब्धिमुलक र ऐतिहासिक बनाउने दावी गरे ।
उनले प्रधानमन्त्रीको चीन भ्रमण स्वभाविक भएको भन्दै प्रधानमन्त्री कुनै सपिङ लिष्ट लिएर भने नजाने स्पष्ट पारे ।
सञ्चारमन्त्रीले भने, “संविधानसभाबाट संविधान बनेपछि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक हुन्छ । यो भ्रमणले सम्बन्धलाई नयाँ उचाईमा पुर्याउँछ । सरकार भारतमा गएर चीन विरोधी कुरा गर्ने र चीनमा गएर भारत विरोधी कुरा गरेर कार्ड प्रयोग गर्ने गल्ती कहिल्यै गर्दैन । दुबै छिमेकीसँग समान सम्बन्ध राख्न चाहन्छौं ।’
मुलुकको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको आवश्यकता भएको भन्दै कुनै दल बाहिर बसेर रमिते हुन नहुने तर्क गरे ।
उनले भने, “संविधान कार्यान्वयन, पुनर्निर्माण, समृद्धि, सुशासन, स्थानीय निकायको निर्वाचन, सीमांकन र संघीय निर्वाचन गर्नु छ । यो जिम्मेवारी पुरा गर्न राष्ट्रिय सहमति आवश्यक छ । सबैसँग यो विषयमा सरकार कुरा गर्न चाहन्छ ।”
सञ्चारमन्त्री राईले थपे, “यो सरकार जनता र संसदको समर्थनमा अगाडि बढ्न चाहन्छ । सत्ता टिकाउन अनुचित अभ्यास गर्दैन ।”
उनले मधेसी दलले प्रधानमन्त्री निर्वाचनमा सहभागिता जनाएर संविधानलाई स्वीकारी सकेको भन्दै अहिलेको सरकार संविधान जारी गर्ने दलहरुको गठबन्धन भएकोले कसैलाई पनि गणतन्त्र र संघीयता विरोधी भन्नुको अर्थ नभएको बताए ।
एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले राष्ट्र निर्माणकोलागि सहमतिको सरकार आवश्यक रहेको भन्दै नेतृत्वको विषय महत्वपूर्ण नभएको बताए ।
उनले संविधान कार्यान्वयनको विरुद्ध सरकार बनाउने ढाल्ने खेलमा एमाओवादी नलाग्ने भन्दै कांग्रेससहितको सरकार बन्दा संविधान कार्यान्वयन गर्न सजिलो हुन्छ भनेर आफूहरुले सहमतिको सरकारको कुरा गरेको बताए ।
प्रवक्ता शर्माले भने, “चुनौतिको सम्बोधन गर्न पनि सहमति आवश्यक छ । सहमतिपछि जसको नेतृत्व भए पनि आपत्ति छैन तर सरकार बनाउने र ढाल्ने खेलमा लागे प्राप्त उपलब्धि खोसिने अवस्था आउन सक्छ ।”
प्रधानमन्त्रीको चीन भ्रमण समाजवाद उन्मुख अर्थतन्त्रको विकास, सम्बन्ध सुदृढ बनाउने र राष्ट्रको हितलाई केन्द्रमा राखेर कुराकानी गर्ने भन्दै राष्ट्र हित विपरितका कुनै सन्धी सम्झौता नहुने स्पष्ट पारे ।
शर्माले सबैको एजेण्डा संविधानको कार्यान्वयन भएकोले सहमतिकै आधारमा मुलुकमा विद्यमान मधेससहितका समस्या समाधान बार्ता र संबादबाट गर्ने विश्वास समेत व्यक्त गरे ।
तराई– मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले मधेसको समस्या समाधान नगरी प्रधानमन्त्रीले गर्ने विदेश भ्रमण जनताको हितमा नहुने भन्दै चीनले प्रधानमन्त्रीको यो भ्रमणलाई महत्व नदिएको दावी गरे ।
उनले पहिचान विपरित संविधान र नश्लबादी सरकारलाई समर्थन नगर्न चीनसँग आग्रह गर्दै प्रधानमन्त्रीको चीन भ्रमण अघि मधेसी मोर्चाले सडकमा विरोध गर्ने र चिनीया दुतावासमा ज्ञापन पत्र बुझाउने बताए ।
अहिलेको सरकार असफल भएको र प्रतिपक्ष पनि त्यस्तै भएको भन्दै माग पुरा नभएसम्म जसको नेतृत्वमा सरकार बने पनि आफूहरुकोलागि ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात’ जस्तै भएको बताए ।
केपी ओली नेतृत्वको सरकार लामो नजाने आफ्नै कारणले ढल्ने दावी गदै आफूहरुको माग पुरा नभए होली पछि कडा आन्दोलन सुरु गर्ने र त्यो हिमाल, पहाड र तराईमा एकै पटक हुने दावी गरे ।








