सिन्धुली । काठमाडौंबाट सिराहाको जिल्ला परीषद उदघाटनका लागी हिडेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । सिन्धुलीमा आइतबार कार्यकर्तासँग भेटमा दाहालले काग्रेसमा महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा सरकारमा कुनै परिवर्तन नआउने बताएका हुन् ।
“कांग्रेस महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा ठूलै परिवर्तन केही हुनेवाला छैन । सरकार परिवर्तन हुँदैन, उनले भने, बरु पुनर्निर्माणको अभियानलाई प्रभावकारी बनाउन र संविधानलाई कार्यान्वयन गर्न राष्ट्रिय सरकार आवश्यक छ, कांग्रेस सहितको राष्ट्रिय सरकार बन्न सक्छ तर सरकार परिवर्तन हुँदैन ।”
उनले नेपाली कांग्रेसलाई राष्ट्रिय सरकारमा समावेश हुँदा राम्रो हुने समेत बताए । अझै दुई वर्ष सम्म नै यहि सरकार रहने बताएका दाहालले यहि सरकारले स्थानीय निकायको चुनाव समेत गराउने बताए ।
सरकारको चीन भ्रमणको तयारीको बारेमा दाहालले व्यापार विविधिकरणका लागि भ्रमण उपलब्धीमुलक हुने विश्वास व्यक्त गरे । भ्रमणलाई उपलब्धीमुलक र फलदायी बनाउन दल र सरकारबीच छलफल भइरहेको जानकारी दिए ।
फरक प्रसंगमा उनले विभाजीत माओवादी धारका शक्तिहरूबीच चाँडै एकता हुने विश्वास व्यक्त गरे । उनले भने, “बावुरामजी बाहेकका माओवादी धाराका शक्तिहरुसँग पार्टी एकताको चर्चा चलिरहेको छ र विभिन्न चरणमा बार्ता पनि भइरहेको छ ।” एकताको प्रक्रिया अगाडि बढीरहेकाले चााडै परिणाम आउने उनको भनाई थियो ।








