फागुन २५ । रौतहट, सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसको समस्या समाधान गर्न सरकार गम्भीर नभएको बताएका छन् ।
सोमबार सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मधेसको समस्या सम्बोधन गर्न ध्यान नदिए मुलुक अप्ठ्यारो स्थितिमा पुग्ने भएकाले समयमै ध्यान दिन आग्रह गरे।
उनले सरकारसंग वार्ताको नाममा हालसम्म ठोस उपलब्धि हासिल नभएको पनि बताए । अध्यक्ष यादवले सरकारको यही रवैया रहेमा अब देशमा अकल्पनीय आन्दोलन हुने विचार व्यक्त गरे । उनले जबसम्म संविधान पुनर्लेखन हुँदैन तबसम्म आन्दोलन जारी रहने स्पष्ट गरे ।
विगत लामो समयसम्म चलेको मधेस आन्दोलनको स्वरुप परिवर्तन भएको बताउँदै अध्यक्ष यादवले पहाड, हिमाल र तराईलाई समेटी आन्दोलन गर्ने तयारी भइरहेको बताए ।
पत्रकार सम्मेलनमा सो पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ तथा वरिष्ठ नेता अशोक राईको पनि उपस्थिति थियो ।








