काठमाडौँ, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एकलौटी र अपारदर्शी काम गरे कांग्रेस चुप लागेर नबस्ने बताए ।
काठमाडौँ कांग्रेसको जिल्ला अधिवेशनको सोमबार उद्घाटन गर्दै नेता देउवाले भने, “कांग्रेस नेतृत्वको सरकारले समयमा निर्णय गर्न नसक्दा प्राधिकरणको नेतृत्व पारदर्शी रुपमा आउन सकेन, भूकम्पपीडितलाई पक्षपात नगरी राज्यले दिने सुविधा दिइनुपर्छ, काखा र पाखाको व्यवहार गरे कांग्रेस चुप लागेर बस्दैन, यसका विरुद्ध लड्छ । ”
संविधान कार्यान्वयन, स्थानीय निकाय, प्रान्तीय र संसदीय निर्वाचन गर्न सक्ने नेतृत्व कांग्रेसले महाधिवेशनबाट दिनुपर्नेमा उनले जोड दिए। देशमा लोकतन्त्रको सुदृढीकरणका लागि बहुमत प्राप्त सरकारको आवश्यकता परेको नेता पूर्वप्रधानमन्त्री ।देउवाले बताए।
महामन्त्री प्रकाशमान सिंहले नेपालको इतिहासमा भएका तीन ठूला आन्दोलनको नेतृत्व गरेको कांग्रेसले उपलब्धिलाई संस्थागत गर्न नसकेकाले अब असफलताबाट पाठ सिक्नुपर्ने बताए। जिल्ला जिल्लाबाट आएका सुझावलाई आधार मानी कांग्रेसले नीति निर्धारण गर्ने उनको भनाइ थियो ।
पार्टी केन्द्रीय सदस्य एवम् सांसद नरहरि आचार्यले संविधानलाई संशोधन मार्फत पूर्णता दिँदै मधेस लगायत समस्या समाधान गरिनुपर्ने बताए ।
केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले ठूला राजनीतिक आन्दोलनको नेतृत्व गरेकैले जनताले कांग्रेसबाट धेरै अपेक्षा गरेकाले आधारभूत आवश्यकता पूरा गर्न सक्ने नेतृत्व महाधिवेशनबाट निर्वाचित हुनुपर्ने बताए भने केन्द्रीय सदस्य गगनकुमार थापाले संविधान कार्यान्वयन गर्न नसके संविधानविरुद्ध षड्यन्त्र सुरु हुने भएकाले दुई वर्षभित्र स्थानीय, प्रान्तीय र संसदीय निर्वाचन गर्न सक्ने नेतृत्व महाधिवेशनबाट निर्वाचित हुनुपर्ने धारणा राखे ।
सांसद ध्यानगोविन्द रञ्जितले सिंहदरबारले काठमाडौँलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएकाले मधेसको जस्तै विस्फोट हुन सक्नेतर्फ नेतृत्वको ध्यानाकर्षण गराए ।
काठमाडौँ कांग्रेस सभापति भीमसेनदास प्रधानले नेताको वरिपरि घुमेर नेता बन्ने परम्पराको अन्त्य गरी विचार र नीतिका आधारमा नेता छान्न कार्यकर्तासँग आग्रह गरे । काठमाडौँका पूर्वसभापति तीर्थराम डङ्गोलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रिय अखण्डतामा आँच आउने गरी सम्झौता हुन नहुनेमा पार्टी नेतृत्वले सचेत गराउनुपर्ने माग गरे ।
सो अवसरमा केन्द्रीय सदस्य अम्बिका बस्नेत, ५ नं क्षेत्रीय सभापति रमेश खड्का र जिल्ला सचिव गीता सिंखडाले आगामी चुनौती सामना गर्न सक्ने नेतृत्व चयन गरिनुपर्नेमा जोड दिए।
पार्टीका प्रमुख निर्वाचन अधिकृत श्यामराज ढुङ्गेलले मङ्गलबार बिहान मनोनयन दर्ता गरी अपराह्न मतदान गर्ने गरी निर्वाचन कार्यक्रम निर्धारण गरिएको जानकारी दिए। मङ्गलबारको निर्वाचनले चारवर्षीय कार्यकालका लागि सभापति, सचिव र कोषाध्यक्षको चयन गर्नेछ । बाँकी पदाधिकारीको मनोनयन निर्वाचित सभापतिको प्रस्तावमा जिल्ला कार्यसमितिले गर्नेछ ।
अधिवेशनमा जिल्लाभरका एक हजार २७३ प्रतिनिधिको सहभागिता छ । सभापतिमा प्रधान, नरोत्तम वैद्य, राजुराज जोशी र सबुज बानियाँले उम्मेद्वारी घोषणा गरे ।








