कांग्रेसको नीति तथा कार्यक्रममाथि छलफल सुरु

BP_smriti_bhawan_Nepali_congressमाघ १८। काठमाडौँ,  नेपाली काँग्रेसको नीति तथा कार्यक्रम समितिमा पार्टीको आगामी नीति तथा कार्यक्रमका बारेमा छलफल सुरु भएको छ ।

समितिको आजको बैठकमा समितिका संयोजक तथा पार्टीका उपसभापति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रमको प्रस्ताव पेस गर्नुभएको थियो । उपसभापति पौडेलले पेस गरेको प्रस्ताव अध्ययन गरी सुझाव तथा टिप्पणी केही दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउन समितिका सदस्यलाई भनिएको छ ।

समितिका सबै सदस्यले सुझाव तथा टिप्पणी केन्द्रीय कार्यालयमा बुझाएपछि फेरि समितिको बैठक बसेर सुझाव तथा टिप्पणीमाथि छलफल गरिने समितिका संयोजक तथा पार्टीका उपसभापति पौडेलले जानकारी दिए।

उनले समितिको बैठकले समेट्नुपर्ने भनी निर्णय गरेका सुझाव तथा टिप्पणीलाई समेत मिलाएर बनाइने नीति तथा कार्यक्रमको मस्यौदालाई पार्टीको आगामी महाधिवेशनमा पेस गरिने बताए ।

समितिका सदस्यलाई अध्ययनका लागि दिइएको नीति तथा कार्यक्रमको प्रस्तावमा आर्थिक तथा सामाजिक समृद्धि, संविधान कार्यान्वयनको अभियान, पुनःनिर्माणको कामलाई कांग्रेसले कसरी नेतृत्व दिनुपर्छ भन्ने कुरा उल्लेख गरिएको उपसभापति पौडेलले जानकारी दिए।

सम्बन्धित शिर्षकहरु