माघ १५। चितवन, मुग्लिन–नारायणगढ सडक खण्डको कालिखोलामा ठूलो सुक्खा पहिरो खस्दा अहिले सडक अवरुद्ध हुन पुगेको छ ।
बिहीबार राति ९ बजे खसेको पहिराका कारण अति व्यस्त सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाटो खुलाउने प्रयास समेत सुरु गर्न सकिएको छैन ।
पहिरो रोकिएपछि मात्रै डोजर प्रयोग गर्ने जनाइएको छ । सडक अवरुद्ध हुँदा अहिले चितवनबाट पोखरा–काठमाडौं जाने र आउने सवारी साधन बीच बाटामै अलपत्रमा परेका छन् । यहाँ बाटो चौडा पार्ने कार्य दैनिक चलिरहेकाले दिउँसोको समयमा पनि दुई घन्टा सडक बन्द हुँदै आएको छ । राति समेत सडक बन्द हुँदा यात्रु प्रभावित भएका छन् ।








