पोखरा, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेस र नेकपा एमाले दुबै दललाई मिलाएर लैजानुपर्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार सङ्घ, कास्कीद्वारा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले प्रमुख राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने वर्तमानको आवश्यकता भएको बताउँदै एनेकपा माओवादीले काँग्रेस र एमाले दुबै दललाई एक ठाउँमा ल्याउने उल्लेख गरे ।
मधेसी दलले उठाएका समानुपातिक, समावेशिता, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारणलगायतका विषयमा लगभग सहमति भइसकेको र एक दुई दिनभित्रमा संविधान संशोधन मार्फत सम्बोधन गरिने बताउँदै उनले सिमाङ्कनको विषयलाई राजनीतिक समिति निर्माण गरी तीन महिना समयावधि निर्धारण गरी टुङ्ग्याउन पहल भइरहेको बताए ।
संविधान संशोधनसँगै जारी जटिलताको अन्त्य हुने विश्वास उनले व्यक्त गरे। माओवादी पार्टीभित्रको विभाजनको वस्तुगतरुपमा औचित्य पुष्टि हुन नसकेको चर्चा गर्दै उनले औचित्य पुष्टि नहुनुले नै एकताको आवश्यकता भएको उल्लेख गरे ।
नयाँ शक्तिको कुरा केवल शब्दमा मात्र नयाँ भएको उनको भनाइ थियो । अध्यक्ष दाहाल प्रदेश नं ४ को अगुवा कार्यकर्ता प्रशिक्षणलगायतका कार्यक्रमका लागि पोखरा आएका हुन्।








