कास्की, उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री कमल थापाले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण राष्ट्र निर्माणको अभियान भएको बताएका छन् ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आज पोखरामा आयोजना गरेको पश्चिमाञ्चल क्षेत्रको आर्थिक वर्ष २०७२/०७३ को अर्ध वार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले नवनिर्माण अभियान चलाएर देशलाई समृद्ध बनाउनुपर्ने बताए ।
“भूकम्पले जनधनको क्षतिसँगै साँस्कृतिक, पुरातात्विक संरचना पनि ध्वस्त भएका छन्, भूकम्पले दिएको पीडालाई भुलेर अवसरका रुपमा लिनुपर्छ,” उनले भने।
“भूकम्पप्रभावित ३१ जिल्लामा मात्र नभई देशभरी नै नवनिर्माणको अभियान थाल्नुपर्दछ” “उनले भने, “पुनःनिर्माणलाई राष्ट्र निर्माणको अभियान बनाइनेछ ।”
संविधानका केही कमीकमजोरीका बाबजुद देश नयाँचरणमा प्रवेश गरेको बताउँदै मन्त्री थापाले अब आर्थिक विकास, सुशासनलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
गोष्ठीमा राष्ट्रिय योजना आयोगका सदस्य डा सुमित्रा अमात्यले प्राथमिकताका आधारमा योजना छनोट गर्न आग्रह गरे । यही माघ ८ गतेसम्म चल्ने कार्यक्रममा पश्चिमाञ्चलका १६ जिल्लाका स्थानीय विकास अधिकारी, प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर तथा नगरपालिकाका कार्यकारी अधिकृतहरूको सहभागिता रहेको छ ।








