एमाले निकट अनेरास्ववियुको २२ औं महाधिवेशन आगामी माघ २७, २८ र २९ मा राजधानीमा सम्पन्न हुँदैछ । महाधिवेशनमा अध्यक्षका प्रत्यासी एवम् वर्तमान उपाध्यक्ष दीपक गौतमसँग असनेपालन्यूजले गरेको कुराकानीः
अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिवेशनको तयारी कस्तो चल्दैछ ?
परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास राष्ट्र निर्माणको आधार, सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार भन्ने नारा सहित माघ महिनाको २७ देखि २९ गतेसम्म अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिवेशन सम्पन्न हुँदैछ । त्यसका लागि संगठनले बिभिन्न समिति र उप समितिहरु बनाएर तयारीलाई अघि बढाईरहेको छ । मुल आयोजक समितिको जिम्मेवारी मेरो काँधमा छ । हामीले बिभिन्न लेभलमा बैठक र प्रशिक्षण तथा भेलाहरु मार्फत छलफल गरिरहेका छौं । उप समितिको निर्माण गरिरहेका छौं । सिंगो संगठन एक ढिक्का भएर २२ औं महाधिवेशनकालाई सभ्य र भब्यरुपमा सम्पन्न गर्ने तयारीमा जुटिरहेका छौं ।
अघिल्लो महाधिवेशन तीन ठाउँमा कुद्यो, अन्तिममा बल्खुमा मतगणना गर्नु भो, यसपाली पनि त्यस्तै त होला नी तयारी ?
अघिल्लो सम्मेलन र अहिलेको सम्मेलनलाई सबै अर्थमा एउटै भाँडोमा हालेर हेर्न मिल्दैन् । यसबिचमा बागमतिमा धेरै पानी बगिसकेको छ, हामीले त्यसलाई पनि ख्याल गर्नु पर्छ । त्यो प्राबिधिक त्रुटि थियो, हामीले पाठ सिकेका छौं । यसपालीको महाधिवेशन सबै अर्थमा ऐतिहासिक हुनेछ ।
सबै अर्थमा ऐतिहासिक हुन्छ भन्नु भयो ? त्यो भनेको के हो ?
हामीले २२ औं महाधिवेशनलाई धेरै कारणले ऐतिहासिक भनेका छौं, पहिलो कुरा भनेको नयाँ संबिधान जारी भएर मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ, यसको मुल मर्मलाई पनि आत्मसाथ गर्नु पर्नेछ । अर्काे कुरा भनेको संगठनको कार्यदिशा हो । हामीले २२ औं महाधिवेशनलाई नयाँ इतिहासको आरम्भस्थलका रुपमा अघि बढाउने प्रयास गरिहेका छौं । यसले नीति र नेतृत्व दुबैमा नयाँ अध्यायको सुत्रपात गर्नेछ । जो आफैैंमा स्वर्णिम इतिहासका रुपमा दर्ज हुनेछ ।
नीति त त्यस्तै हो, नेतृत्वमा चाँही राम्रै रस्सा कस्सी होला जस्तो छ, हैन ?
त्यस्तो हुँदै होइन, मुल कुरा भनेको नीति नै हो । निती बिनाको नेतृत्व त हिटलर जस्तै हुन्छ नि । हामी त माक्र्सवादी, लेलिनवादी सिद्धान्त र जबजको आलोकमा प्रशिक्षित मान्छे हौं । सिद्धान्तबाट बिचलित हुने भन्ने त सवालै आउँदैन् । फेरी कोरा सिद्धान्तको कुरा गरेर मात्रै पनि हुन्न् । त्यसलाई व्यवहारमा पनि ढाल्नु पर्छ । कुरा चाँही चिल्ला र सैद्धान्तिक गर्ने अनि व्यवहार चाँही भिन्न खाले गरियो भने पनि त्यसले उपलब्धि दिँदैन् । हामीले बोकेको विद्यार्थी आन्दोलनको झण्डा र त्यसका प्रकाशमा अघि बढाउनु पर्ने एजेण्डाहरु र नेतृत्वको सवाल एकै पटक हल गर्ने प्रयास यसपालीको महाधिवेशनमा हुँदैछ ।
भनेपछि अध्यक्ष बन्ने दौडमा हुनुहुन्छ ?
अध्यक्ष बन्ने दौडमा मात्रै नभन्नुस, विद्यार्थी आन्दोलनको झण्डालाई बोक्ने मुल अभियन्ता बन्ने अभियानमा पनि भन्नुस् । म अध्यक्षको पद ओगट्न मात्रै मैदानमा उत्रिएको होइन। अखिल आन्दोलनको इतिहास जोगाउन र त्यसकै जगमा नयाँ इतिहास कोर्न पनि अघि सरेको हुँ ।
एजेण्डा के के छन त ?
विद्यार्थी आन्दोलनको इतिहास जोगाउने र नयाँ भविष्य निर्माण गर्ने योजना छन् । त्यसका लागि मैले १५ सुत्रिय अवधारणा नै अघि सारेको छु । जसलाई मैले अखिल आन्दोलन जोगाउने मुल मन्त्र भन्ने गरेको छु । अनेरास्ववियु नै विद्यार्थी आन्दोलनको पर्याय भएकाले पनि अखिल आन्दोलन जोगाउनु भनेको समग्र विद्यार्थी आन्दोलन जोगाउनु हो भन्ने मेरो मान्यता हो । अखिललाई पढालु, सृजनशिल, देशभक्त र समाजिक न्याय र प्राज्ञिक उन्नयनका पक्षधरहरुको संगठनका रुपमा स्थापित गराउने लक्ष्य छ । स्ववियु निर्वाचन, समेष्टर प्रणाली, नमुना शैक्षिक संस्था निर्माण, विद्यार्थीको सृजनशिलता प्रस्फुठित गराउने योजना, अन्तराष्ट्रिय विद्यार्थी संगठनहरुसँग सम्बन्ध बढाउने, शैक्षिक योग्यताको प्रमाण पत्र राखेर सहुलियत ब्याजदरमा ऋण लिने व्यवस्था कार्यान्वयन गराउने लगायतका एजेण्डा बोकेर मैदानमा होमिएको छु ।
जितका आधारहरु चाँही के के हुन ?
विद्यार्थी आन्दोलनमा मैले खेलेको भूमिका र भविष्यमा गर्न सक्ने थप योगदान मेरा जित्ने आधार हुन् । म स्कुलदेखि विद्यार्थी आन्दोलनमा लागेको छु । शैक्षिक परिवर्तन, प्राज्ञिक उन्नयन र समाजिक न्याय सहितको समता मुलक समाज र स्वाधिन राष्ट्रका पक्षमा निरन्तर संघर्ष गर्दै आएको छु । देशभरका सहकर्मीहरुले नेतृत्व लिनका लागि दबाव दिईरहनु भएको छ । म सच्चा मन लिएर अनेरास्ववियुको लाल झण्डाको फस्ट म्यान लिडरसिप लिन अघि सरेको हुँ । अखिल आन्दोलन जोगाउन, राष्ट्रियताको जगेर्ना गर्ने तथा प्राज्ञिक उन्नयनसहित समाजिक न्याय स्थापित गर्ने बाहेक मेरो अन्य कुनै उदेश्य छैनन् । जो खुल्ला हृदयका साथ केहि गर्ने अठोटसहित मैदानमा उत्रन्छ उसको विजय सुनिश्चित हुन्छ ।








