काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले पार्टीको १३ औं महाधिवेशनबाट प्रतिष्पर्धामा उत्रन सक्ने योग्य नेतृत्व चयन गर्न कार्यकर्ताहरूलाई अनुरोध गरेका छन् । बिहीबार नेपाल विद्यार्थी संघले आयोजना गरेको चियापान कार्यक्रममा आफ्ना धारणा राख्दै नेता सिंहले अन्य दलसँगको प्रतिष्पर्धामा खरो उत्रन सक्ने सबल नेता पार्टीको आवश्यकता भएको औंल्याएका हुन् ।
१३ औं महाधिवेशनबाट मुलुकको आवश्यकता अनुरुप पार्टी संगठन हाँक्न सक्ने नेतृत्व चयन गर्नुपर्छ,’ उनले भने, ‘पविर्तनलाई आत्मसाथ गर्दै जनताको चाहना बुझ्न सक्ने, अरु दलहरुसँग प्रतिस्पर्धामा सशक्त रुपमा जुटन सक्ने नेता छान्ने जिम्मा कार्यकर्ताको काँधमा आएको छ ।’
एक फरक प्रशंगमा उपलब्ध स्रोतसाधन परिचालन गरेर जनजीवन सहज बनाउन सरकार पुर्णरूपमा असफल भएको बताउँदै जनताले सरकारको अनुभूति गर्न नसक्नु दुःखद् भएको धारणा राखेका छन् । उनले सरकार जनताप्रति उत्तरदायी हुन नसकेको बताउँदै कालेबजारी मौलाउँदा सिहदरबारमा रमाएर बस्नु लज्जास्पद भएको धारणा व्यक्त गरेका छन् । पार्टीको १३ औँ महाधिवेशनको सफलताको कामना गर्दै नेवि संघ केन्द्रीय समितिले चियापान आयोजना गरेको हो।








