दाङ, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालीको शिर नझुकाई नाकाबन्दी अन्त्य हुने दाबी गरेका छन् । आइतबार दाङको घोराहीमा आयोजित क्रान्तिकारी पत्रकार संघको तेस्रो जिल्ला सम्मेलन उद्घाटन समारोहलाई सम्वोधन गर्दै दाहालले नेपालीको शिर उँचो नै हुने गरी कुटनीतिक तरिकाले नाकावन्दीको समस्या समाधान गरिने बताएका हुन् ।
नाकाबन्दी नेपालीको स्वाभिमान उच्च बनाउने र आत्मनिर्भरता बढाउने अवसर भएको उल्लेख गर्दै उनले नेपालीको एकतालाई अझ बलियो बनाउन जरुरी भएको बताए।
समावेशी र समानुपातिक संविधान जारी भएपछि केही मानिसहरुको चित्त नबुझेको उनले बताए । यसकै कारण संविधान जारी गर्दा नाकाबन्दीको मार खेप्नुपरेको धारणा दाहालले राखे । उनले संविधान जारी भएपछि नेपालीले भोग्नुपरेका नाकाबन्दी जस्ता कठिन चुनौतीको मिलेरै सामना गरिने बताए ।








