‘तीन दलको निर्णयले छिट्टै पूर्णता पाओस्’

SAMBIDHAN-SABHA-BHAWANकाठमाडौँ, प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले भूकम्प र नाकाबन्दीबाट पीडित जनताको पक्षमा सरकारले काम नसकेको आरोप लगाउँदै सांसदको भूमिकाबारे बृहत् छलफलको खाँचो औँल्याएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा काँग्रेसका नवीन्द्रराज जोशीले ३१ मन्त्रालय, छ उपप्रधानमन्त्रीसहितको सरकार गठन भए पनि चिसोमा कठ्याङ्ग्रिएका जनताले सरकारको महसुस गर्न पाएका छैनन् भने।

उनले भने – “महँगीको मारमा जनता छट्पटाइरहेका भए पनि सरकार मन्त्रालय, मन्त्री थप्नेतिर उद्दत भएको छ, नाकाबन्दी र भूकम्पबाट पीडितलाई राहत दिने मामिलामा संवेदनशील छैन, त्यसैले सांसदको भूमिकाबारे बृहत् छलफलको आवश्यकता देखिएको छ ।”

एकीकृत नेकपा माओवादीका श्यामकुमार श्रेष्ठले चिसोका कारण दोलखामा १३ भूकम्पपीडितको मृत्यु भएको बारेमा सदनको ध्यानाकर्षण गराउँदै पीडितलाई सरकारले राहत पु¥याउन नसकेकामा गुनासो गरे । उनले आन्दोलनरत मधेसी समुदायको माग सम्बोधन गर्न तीन दलको निर्णयले छिट्टै पूर्णता पाओस् भने ।

मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका आशा चतुर्वेदीले पानी, बिजुली, तेल र पानी नभएको नयाँ नेपालको कस्तो परिकल्पना गरिएको हो भनी प्रश्न गरे।

उनले तराई मधेसमा हुँदै आएको आन्दोलन र अघोषित नाकाबन्दीलाई खुलाउनेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

नेपाल मज्दुर किसान पार्टीका डिल्लीराज काफ्लेले भारतीय नाकाबन्दीका कारण खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको बताउँदै सरकारले विभिन्न जलविद्युत् आयोजना निर्माणका लागि भारतीय कम्पनीलाई सुम्पेको आरोप लगाए ।

नेकपा संयुक्तका जयदेव जोशीले सरकारले जनता र मुलुकप्रति जनाएको प्रतिबद्धता पूरा नगरेको, कालोबजारी बढेको, इन्धनको अभावमा दाउरासमेत दिन नसकेको तथा भूकम्पपीडितलाई नौ महिनासम्म राहत पु¥याउन नसकेको बताए ।

नेपाल परिवार दलका मिलन राजवंशीले भूकम्प र नाकाबन्दीबाट अभाव र कठिनाइ भोगिरहेको जनताको समस्या सुल्झाउने र जवाफदेहिता प्रस्तुत गर्ने काम सरकारबाट भएको छैन भने।

नेकपा एमालेका रञ्जनाकुमारी सरकारले सर्लाही जिल्लाको हरिपुर गाविसमा आज रामनरेश रायको हत्या भएकाले त्यसको छानबिन गरी दोषीलाई कारबाहीको माग गरे।
––––––––

सम्बन्धित शिर्षकहरु