ओली सरकार आफ्नै बोझले ढल्छः देउवा

serbhadur-deubaकाठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेतृत्वको वर्तमान गठबन्धन सरकार आफ्नै कारण र बोझले ढल्ने दाबी गरेका छन् ।

शनिबार महेन्द्नगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता देउवाले सरकारले केही गर्न नै नसकिरहेको आरोप लगाए । ‘सरकारले केही गर्न नै सकेको छैन, अगाडी बढन पनि सकिरहेको छैन,’ उनले भने ।

मुलुकको नयाँ संविधान अत्यन्त राम्रो भएपनि मधेसका केही दल असन्तुष्ट रहेको अवस्था उल्लेख गर्दै उनले असन्तुष्टि अन्त्य गर्न संसदमा संविधान संशोधन प्रस्ताव पेश गरिएको बताए ।

‘संविधानमा केही छुटेको हामीहरुलाई पनि लागेको छ,’ उनले भने, ‘आशा गरौं असन्तुष्ट मधेसवादी दलहरुसँग वार्ता गरेर समाधानका बाटो खोज्ने छौं । निर्वाचन क्षेत्र, समावेशी र समानुपातिकका कुरा संशोधन प्रस्तावले सम्बोधन गर्नेछ ।’ उनले सिमांकनका सवालमा छलफल भइरहेकोले वार्ता र छलफलबाटै टुंगो लगाउने पहल भइरहेको जानकारी दिए ।

नेता देउवाले कैलाली र कञ्चनपुरमा बसोवास गर्ने राना तथा डगौरा थारुलाई विशेष अधिकार प्रदान गरेर भएपनि उनीहरुका माग पुरा गरिने बताए । ‘राज्य भित्रै विशेष स्वायत्त क्षेत्र दिन सकिन्छ,’ उनले भने, ‘समावेशी र समानुपातिक हक अधिकारका कुरामा पनि उनीहरुलाई प्राथमिकतामा राखेर अघि बढनु पर्छ ।’

उनले नेपाल अहिले अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै नाकाबन्दीले उत्पन्न समस्या पनि छिटै समाधान हुने बताए । वीरगञ्जको रक्सौल बाहेकका नाका सहज हुँदै गएको र वीरगञ्ज नाका पनि असन्तुष्ट दलहरुसँगको वार्तासँगै क्रमशस् खुकुलो हुँदै जाने बताए ।

पार्टीको आसन्न १३ औं महाअधिवेशनमा देउवाको उम्मेदवारीबारे सोधिएको प्रश्नमा उनले यसबारे अहिले केही बोल्न नचाहने बताए । ‘म जेसिजको अधिवेशनको कार्यक्रममा आएको हुँ, त्यसैले अहिल केही नबोलौं,’ उनले भने ।

सम्बन्धित शिर्षकहरु