पुस २ । काठमाडौं, भारतले लगाएको नाकाबन्दीका कारण मूल्यवृद्धि दुई वर्षपछि दोहोरो अंकमा पुगेको छ।
राष्ट्रबैंकले बुधबार सार्वजनिक गरेको आर्थिक स्थितिअनुसार कात्तिकमा मूल्यवृद्धि १०.४ प्रतिशत पुगेको छ।२०७० कात्तिकमा मूल्यवृद्धि १० प्रतिशत थियो। २०७० मा संविधानसभा निर्वाचनका कारण पैसाको आपूर्ति बढेको हुँदा मूल्यवृद्धि दोहोरो अंकमा गए पनि यसपटक भारतले लगाएको नाकाबन्दीका कारण मूल्यवृद्धि दोहोरो अंकमा पुगेको हो।
एक महिनामा मात्र मूल्यवृद्धि २.२ प्रतिशत बढेको छ। असोजमा यस्तो वृद्धि ८.२ प्रतिशत थियो। अघिल्लो वर्ष कात्तिकमा मूल्यवृद्धि ७.२ प्रतिशत थियो।राष्ट्रबैंकका अनुसार क्षेत्रगत आधारले मूल्यवृद्धिको सबैभन्दा बढी मार काठमाडौं उपत्यकावासीले भोग्नुपरेको छ।
काठमाडौं उपत्यकाको मूल्यवृद्धि ११.८ प्रतिशत पुगेको छ । पहाडमा ११.४ र तराईमा ९.१ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्रबैंकको तथ्यांक छ। त्यस्तै हिमालमा ९.६ प्रतिशत मूल्यवृद्धि भएको छ।
अघिल्लो कात्तिकमा उपत्यकामा ७.१ तथा पहाड र तराईमा ७.२ प्रतिशत मूल्यवृद्धि थियो।राष्ट्रबैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा यसपटकको मूल्यवृद्धि मुद्राको आपूर्तिका कारण नभएकाले मौद्रिक उपकरण मार्फत नियन्त्रण गर्न नसकिने बताउँछन्।
‘अहिले आपूर्ति व्यवस्था असहज भएका कारण मूल्यवृद्धि भएको हो’, उनले भने, बजारमा माग बढेर मूल्य बढेको भए मूल्यवृद्धि नियन्त्रणका लागि राष्ट्रबैंकले कदम चाल्न सक्थ्यो । आपूर्ति नभएका कारण भएको मूल्यवृद्धि नियन्त्रण मौद्रिक उपायबाट सम्भव हुँदैन।’
राष्ट्रबैंकले मौद्रिक नीति जारी गर्नुको प्रमुख उद्देश्य मूल्यवृद्धि नियन्त्रण हो। यस आधारमा बजारमा मुद्राको आपूर्ति बढाउने वा घटाउने नीति लिइन्छ।
राष्ट्रबैंकको तथ्यांकअनुसार दाल र गेडागुडीको मूल्य सबैभन्दा बढेको छ।
कात्तिकसम्ममा दाल र गेडागुडी उपसमूहको मूल्यवृद्धि ४४ प्रतिशत पुगेको छ । घिउ र तेल उपसमूहमा मूल्यवृद्धि ४१.१ प्रतिशत पुगेको छ । लत्ताकपडा र जुत्ताचप्पलमा १४.४ प्रतिशत मूल्य बढेको छ।
अर्थविद् डा. विश्वम्भर प्याकुरेल नाकाबन्दीको कारण हाइपर इनफ्लेसन (नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेको मूल्यवृद्धि) भएको बताउँछन्। ‘आपूर्तिमा अवरोध भएपछि बढेको कालोबजारीका कारण हरेक वस्तुको मूल्य बढेको छ’, उनले भने, ‘राष्ट्रबैंकले १०.४ प्रतिशत मूल्यवृद्धि भएको भने पनि यथार्थमा त्योभन्दा बढी हुन्छ। आपूर्तिमा अवरोध भएपछि बढेको मूल्यवृद्धि नियन्त्रण गर्न कठिन हुन्छ।’
नेपालको मूल्यवृद्धिमा भारतको मूल्यवृद्धिको चाप सधैं परेको हुन्छ। अहिले डलरको तुलनामा भारतीय मुद्राको अवमूल्यन भएको हुँदा सामान्य अवस्थामा पनि मूल्यवृद्धि हुन्थ्यो। भारतमा अहिले ५.४ प्रतिशत मूल्यवृद्धि छ।
‘भारतीय मुद्रा कमजोर भएको हुँदा सामान्य अवस्थामा पनि मूल्यवृद्धि हुन्थ्यो,’ अर्थविद् प्याकुरेलले भने, ‘भारतमा मूल्य बढ्दा त्यसको असर सीधा नेपालमा पर्छ। अहिले नाकाबन्दीका कारण कालोबजारी बढेको हुँदा मूल्यवृद्धि स्वाभाविक रूपले नियन्त्रण गर्न सक्ने सीमाभन्दा माथि जान्छ।’
राष्ट्रबैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा मूल्यवृद्धिलाई आठ प्रतिशतको सीमामा राख्ने लक्ष्य लिएको थियो। राष्ट्रबैंकका गभर्नर चिरञ्जीवी नेपालले पनि केही दिनअगाडि मूल्यवृद्धि दोहोरो अंकमा पुग्ने बताएका थिए । भारतको नाकाबन्दीको असर नेपालको व्यापारमा ठूलो मात्रामा परेको छ।
अघिल्लो वर्षको तुलनामा २९.१ प्रतिशत कमी आएर चार महिनामा २० अर्ब रुपैयाँको निर्यात भएको छ। यस्तै ३६.८ प्रतिशतले घटेर कात्तिकसम्म एक खर्ब ६० अर्ब रुपैयाँको वस्तु आयात भएको छ। अघिल्लो वर्ष कात्तिकसम्म दुई खर्ब ५४ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो।
भारतले लगाएको नाकाबन्दीका कारण व्यापार घाटा घटेकाले देशबाट भित्रिने भन्दा बाहिरिने रकममा कमी आउँदा शोधनान्तर ८३ अर्ब ८८ करोड रुपैयाँले बचतमा छ। रेमिट्यान्स आयमा वृद्धि तथा नाकाबन्दीको कारण आयातमा कमी आउँदा शोधनान्तर बचतमा गएको हो। कात्तिक महिनासम्ममा दुई खर्ब १५ अर्ब रुपैयाँ रेमिटेन्स आएको छ।
अन्नपूर्ण पोष्ट दैनिकबाट।








