दमक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले संविधान संशोधन गरेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्।
प्रेस चौतारी नेपालले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बताउनुभयो । नेकपा एमालेका पोलिटब्युरो सदस्य खरेलले संविधान संशोधन गर्न आफ्नो पार्टी र सरकारका लागि आपत्तिजनक नभएको तर त्यो नै समाधान हो कि होइन भन्ने विषय महत्वपूर्ण भएको उल्लेख गरे ।
उनले भने, “सरकार संविधान संशोधनमार्फत मधेसी मोर्चाका माग सम्बोधन गर्न तयार भए पनि मोर्चा वार्ताप्रति गम्भीर छैन ।” सडक र सीमामा बसेरमोर्चाले आन्दोलन गरे पनि त्यसले निकास नदिएको भन्दै मन्त्री खरेलले वार्ता र संवादकै माध्यमबाट मागहपूरा हुन्छन भन्नेमा विश्वास गर्न मोर्चालाई आग्रह गरे।
यसैबीच मन्त्री खरेलले आजै झापा गौरादह–७ महारानीझोडामा रहेको प्रहरी चौकी भवनको शिलान्यास गरेका छन् । उनी सोही ठाउँका स्थायी बासिन्दा छन्।
भवन शिलान्यास गर्दै उनले शान्ति सुरक्षा र अमनचयन कायम राख्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए। सो अवसरमा भवन बनाउन पाँच कठ्ठा जग्गा निःशुल्क प्रदान गर्ने स्थानीयवासी गोपालदोर्जे लामा र भारती लामालाई सम्मान गरिएको थियो।








