नयाँ दिल्ली, भारतका अर्थमन्त्रीले आफ्नो दलले हालै विहार प्रदेशको निर्वाचनमा नराम्रो पराजय भोगेपछि पनि आर्थिक सुधार अगाडि बढाउँदै लैजाने दृढता व्यक्त गरेका छन् । यस पराजयपछि भारतमा निकै आवश्यक ठानिएको सुधार प्रक्रिया मन्द हुने आशङ्का बढेको थियो ।
भारतको सबैभन्दा ठूलो तथा गरिब प्रदेश विहारको प्रादेशिक संसदीय निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाइमा निर्वाचन अभियान सञ्चालन भए पनि सत्ताधारी भारतीय जनता पार्टीले नराम्रो हार ब्यहोरेको छ ।
गत वर्षको आमनिर्वाचनमा आफ्नो दललाई भारतमा ३० वर्षपछि सबैभन्दा ठूलो जनमत दिलाएपछि प्रधानमन्त्री मोदीलाई पराजित गर्नै नसकिने विजेताको रूपमा हेरिएको थियो भने विहारमा पराजयबाट त्यसमा ठूलो क्षति पुगेको विश्लेषकहरूले बताएका छन् ।
एक भएका प्रतिपक्षी दलहरू अब राष्ट्रिय संसदमा प्रधानमन्त्री मोदीको सरकारले अगाडि बढाएका आर्थिक सुधारका बचन पूरा गर्न नदिन अगाडि बढ्ने अनुमान गरिएको छ ।
बीजेपीको पराजयपछि भारतको शेयर बजार सोमबार बिहान २.३ प्रतिशतले घटेको थियो ।
अर्थमन्त्री अरुण जेट्लीले संसदको माथिल्लो सभामा आवश्यक सङ्ख्या नपुगे पनि लामो समयसम्म प्रतिरक्षा गरिएको बिक्री करसम्बन्धी प्रस्तावलाई अगाडि बढाउने बताए ।
उनले यस निर्वाचनलाई मोदी सरकारको १७ महिनाको शासनको जनमत सङ्ग्रहको रूपमा आफूले नहेरेको बताए । उनले आफूहरू सबैले यसको दोष लिने बताए ।
उनले यसले अर्थतन्त्रमा प्रभाव नपार्ने र संरचनागत सुधार निरन्तर रहने बताए। उनले ईटी नाउ टीभी सञ्जाललाई उक्त कुरा बताए।
विहारको निर्वाचनमा क्षेत्रीय दलहरूको गठबन्धनले २४३ स्थानको सभामा १७८ स्थान प्राप्त गरेको छ भने भारतीय जनता पार्टीले ५३ स्थान ।
महिना दिनसम्म चलेको यस निर्वाचनलाई प्रधानमन्त्री मोदीले आफ्नो लोकप्रियताको परीक्षणको रूपमा हेरेका थिए । उनले यस अभियानमा ३० भन्दा बढी सभालाइ सम्बोधन गर्नुभयो र यस गरिब राज्यमा अरबौँ अमेरिकी डलर बराबर लगानी गर्ने बचन दिए।
सेन्टर फर पलिसी रिसर्चका विश्लेषकहरूले हिन्दु समाचारपत्रमा नरेन्द्र मोदी सन् २०१४ मा शासन आउँदा देखिनु भएझै शक्तिशाली नरहेको उल्लेख गरेका छन् ।
विश्लेषकहरूले विहारमा पराजित बीजेपी केन्द्रमा कमजोर भएको र उसले अगाडि बढाउने नीतिहरू पनि अब रोकिने वा त्यसमा सम्झौता हुने बताएका छन् ।
मोदीको एकल नेतृत्वमा धरमराउँदो अर्थतन्त्रमा सुधार गर्ने बचनका साथ भारतीय जनता पार्टीले आमनिर्वाचनमा विजय हासिल गरेको थियो ।
हाल भारतको आर्थिक वृद्धिदर सात प्रतिशतको हाराहारीमा छ ।
त्यसो त प्रधानमन्त्री मोदीले लगानी बढाउने गरी सुधार गर्न नसकेको र दशौँ लाख युवालाई रोजगारी दिन नसकेको भनी उहाँको आलोचना बढ्न थालेको छ ।
आउँदा अनेकौँ राज्यका निर्वाचनमा निरन्तर रूपमा विजय हासिल गरी माथिल्लो सभामा नियन्त्रण कायम गर्ने प्रधानमन्त्री मोदीको दीर्घकालिन लक्ष्यमा यस पराजयले क्षति पु¥याएको छ ।
भारतमा माथिल्लो सभाका स्थान प्रदेशमा दलहरूको राजनीतिक शक्तिको आधारमा विभाजित भएको छ ।
फेब्रुअरी महिनामा दिल्लीको निर्वाचनमा पराजय भएपछि बीजेपीको यो दोस्रो पराजय हो ।
प्रधानमन्त्री मोदी बेलायतमा आफ्नो समकक्षीसँग वार्ता गर्न र त्यहाँका भारतीय मूलका वासिन्दालाई विम्बली रङ्गशालामा सम्बोधन गर्न प्रस्थान गर्नुपूर्व यो नतिजा आएको हो ।








