नाकाबन्दीबाट देश लथालिङगः महामन्त्री सिंह

prakshman-singhइटहरी,  नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले वर्तमान अवस्थामा छिमेकी मुलुक भारतले गरेको अघोषित नाकाबन्दी र संयुक्त मधेसी मोर्चाले गरेको आन्दोलनबाट देश लथालिङ्ग बनिरहेकोमा चिन्ता ब्यक्त गरेका छन्। ।

शनिबार धरानमा अग्रज पत्रकार गिरिराज आचार्यद्वारा लिखित महानायक गणेशमान नामक पुस्तकको लोकार्पण गर्दै सो कुरा बताएका हुन्। उनले मधेसको समस्यालाई कांग्रेसले नजिकबाट नियाली रहेकाले त्यहाँको समस्यालाई पनि कांग्रेसले समाधानका लागि सक्रिय नेतृत्व गर्ने विश्वास दिलाए।

गणेशमान सिंह फाउण्डेशन सुनसरीद्धारा आयोजित सो कार्यक्रममा महामन्त्री सिंहले संयुक्त मधेसी मोर्चाको नामबाट अहिले भइरहेको आन्दोलन र उत्पन्न समस्या मधेसी जनताले भोगिआएको समस्या समाधान गर्ने उद्देश्यलेभन्दा पनि केही सामन्तबादी मधेसी नेताहरुले आफ्नो बर्चश्व स्थापित गराई राख्ने निहित स्वार्थले प्रेरित भएर गरिएकाले त्यसलाई मधेसमा बसोवास गर्ने सबै जनताले बुझ्न जरुरी रहेको पनि प्रष्ट पारे।

उनले नयाँ नेपालको निर्माण गर्ने महान उद्देश्यकासाथ नेपाली जनताले नै जारी गरेको बर्तमान नयाँ नेपालको संविधानमा मधेसमा बसोवास गर्दै आएका विभिन्न जाति र समुदायको उन्नतिसँगै समान सहभागिताका लागि धेरै कुरा समेटिएको तर्फ ध्यानाकर्षण गराउनुहुँदै संविधानलाई गहनरुपमा अध्ययन गर्न आग्रह गरे।

महामन्त्री सिंहले हामी नेपालीले हिमाल पहाड र तराई वा मधेसवासीप्रति संवेदनशील भएर संविधानमा नै अधिकार सुनिश्चित गर्ने धेरै बुँदाहरु समेटेर ल्याएकाले त्यसलाई कसैले मान्ने वा नमान्ने भन्ने हुन सक्दैन भने ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा लेखक गिरिराज आचार्यले महानायक गणेशमान सिंहले मुलुकका लागि गरेको योगदानका विषयमा धेरै पहिला नै पुस्तकको आकार तयार भई सकेको भए पनि यसलाई अहिले गणेशमान सिंहको सतवार्षिकी समारोह चलिरहेको बेला सार्वजनिक गर्ने जमर्को गरेको बताए ।

फाउण्डेशनका सुनसरी अध्यक्ष मदन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका १ नम्वर क्षेत्रीय सभापति चन्द्रप्रसाद श्रेष्ठलगायतले गणेशमानको योगदान बारे बोल्नुभएको थियो । त्यसअघि धरान १६ मा रहेको लौहपुरुष गणेशमान सिंहको प्रतिमामा माल्यार्पणसमेत गरिएको थियो ।

सम्बन्धित शिर्षकहरु