काठमाडौं, वीरगञ्जमा सोमबार दिउँसो प्रहरीसँग भएको झडपमा भारतीय नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रक्सौल नयाँ रोडका २४ वर्षका आशिषकुमार राम हुन् । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको हो । उनी प्रहरीमाथि ढुंगामुढामा संलग्न रहेको प्रहरीले जानकारी दिएको छ।
गृह मन्त्रालयले पनि मृतक भारतीय नागरिक भएको पुष्टि गरेको हो । गृह सचिव सूर्यप्रसाद सिलवालले पुष्टि गर्दै भने भने(‘मृतक भारतीय नागरिक रहेछन् । उनी रक्सौलको भएको सूचना आएको छ ।’
उनको टाउकोमा गोली लागेको छ । उनको साथमा भेटिएको मोबाइलबाट पहिचान खुलेको प्रहरीले जनाएको छ ।
वीरगञ्ज रक्सौल नाकाको मितेरी पुलमा धर्ना बसेकाहरुलाई प्रहरीले हटाएपछि वीरगञ्ज सोमबार विहानैबाट तनावग्रस्त भएको थियो । शकराचार्य गेट नजिक भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।








