काठमाडौँ, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन व्यवस्थापिका– संसद्मा यही कात्तिक ११ गते हुने भएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख ओन्सरी घर्तीले नेपालको संविधानको धारा २९७ को उपदफा (२)अनुसार राजनीतिक सहमतिमा यही कात्तिक ८ गते १६ः३० बजेभित्र र त्यसो नभए सोही धाराको उपदफा (३)बमोजिम कात्तिक ११ गते ११ बजे निर्वाचन हुने जानकारी दिइन ।
उनले व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा २६ र ३८ को उपदफा (१) बमोजिम ती पदका लागि निर्वाचनको मिति तोकिनुका साथै व्यवस्थापिका–संसद्का महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोकिन्।
साथै सभामुखले निर्वाचनको कार्यतालिका आजै सार्वजनिक गर्न निर्वाचन अधिकृत भट्टराईलाई निर्देशन दिइन् ।
त्यसअघि बैठकमा सभामुखले मन्त्रिपरिषद् गठन र कार्यविभाजनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र वाचन गरेकी थिइन ।
सभामुखमा निर्वाचित भएपछि उनले सञ्चालन गरेको यो पहिलो बैठक हो ।








