न्यू साउथ वेल्स सरकारले यस आर्थिक वर्ष २०१५–१६ का लागि स्पोन्सरसीप लिस्ट सार्वजनिक गरेको छ । पहिलेको लिस्टमा भएका अधिकांश पेशाहरू यस पटक पनि लिस्टमा परेका छन् । योसँगै स्टेट स्पोन्सरसीपका बारेमा सर्वसाधारणहरुमा विभिन्न किसिमका प्रश्न र जिज्ञासाहरु उठेको पाइन्छ । त्यसैले यो आलेखमा यो वर्ष कतिजनाले स्टेट स्पोन्सरशिपमार्फत पीआर पाउने भएका छन् ?यो कहिलेसम्म खुल्ला रहन्छ ? र यस्तो पिआर पाउँन आवश्यक योग्यताहरु के के हुन् ? भन्नेबारे रजिष्टार्ड माइग्रेशन एजेण्ट संजीव पाण्डेको सल्लाहमा आधार रहेर यो जानकारी प्रस्तुत गरेका छौं ।
गत वर्षजस्तै यस वर्ष पनि ४००० जनालाई न्यू साउथ वेल्सले स्पोन्सर गर्ने भएको छ । यो १२ महिना नै खुल्ला रहने छ । तर कुन महिनामा कुन कुन पेशाका कति कति जनालाई आमन्त्रण गर्ने भन्ने कुरा न्यू साउथ वेल्स सरकारको अधिनमा हुने भएकाले यति जनाले आवेदन दिएपछि बन्द गर्नुपर्ने भन्ने कुनै आवश्यकता छैन । य्द्यपि न्यू साउथ वेल्सले चाहेमा यसलाई कुनै पनि समयमा रोक्न सक्नेछ ।
आवश्यक योग्यता :
जनरल स्कील्ड माइग्रेशनअन्तर्गत पीआरको लागि आवेदन दिने व्यक्ति पचास वर्षभन्दा कम उमेरको हुनुपर्दछ । स्टेट स्पोन्सरसीपको लागि योग्य हुन आइएल्ट्समा हरेक ब्याण्डमा ६ वा अरू टेस्ट दिएको भए पनि यही बराबरको स्कोर ल्याएको हुनुपर्दछ । त्यस्तै स्कील असेसमेन्ट भएको हुनुपर्छ र ५५ पोइन्ट पहिल्यै पुगिसकेको हुनुपर्दछ। र, तपाईंको अकुपेशन स्टेटको लिस्टमा परेको हुनुपर्दछ ।
दर्ता प्रक्रिया :
सुरुमा स्कील सेलेक्टमा गएर एक्स्प्रेसन अफ इन्टरेस्ट दर्ता गर्नुपर्दछ। यसमा १९० भिसा र न्यू साउथ वेल्समा चिन्ह लगाउन भुल्नु हुँदैन । यसरी आएका आवेदनहरू मध्येबाट न्यू साउथ वेल्सले आवश्यक संख्यामा आवेदकहरू छानेर क्रमशस् अरू थप कागजात पठाउनको लागि सम्पर्क गर्दछ। आवेदन शुल्क र आफ्ना सबै कागजात पठाएपछि उसले स्कील सेलेक्टमार्फत नै पीआरको लागि आवेदन हाल्न आमन्त्रण गर्दछ । यसको ६० दिनभित्र पीआरको लागि आवेदन दिइसक्नुपर्दछ ।
हुन त कुन अकुपेशनको लागि कति सिट दिने भनेर बाहिर सार्वजनिक गरिएको छैन । तर, १८९ भिसाको लागि अकाउण्टेन्टको संख्यामा ठूलो कटौती गरिएको हुँदा न्यू साउथ वेल्सले पनि यस वर्ष अकाउण्टेन्टलाई भने थोरै संख्यामा मात्र आमन्त्रण गर्नसक्ने सम्भावना देखिन्छ ।
उमेर कति हुनुपर्छ ?
उमेरकै कारणमात्र ५ पोइन्ट पुगेको छैन भने एक्स्प्रेसन अफ इन्टरेस्ट दर्ता गरिराखे हुन्छ । तपाईं २५ वर्ष पुगेकै दिन तपाईंको ५ पोइन्ट स्वतः बढ्ने सिस्टम स्किल्सेलेक्टमा छ ।
गत वर्ष नै एक्स्प्रेशन अफ इन्टरेस्ट दर्ता गराइसकेकाहरुले फेरि एक्स्प्रेशन अफ इन्टरेस्ट दर्ता गर्नु पर्दैन ।
स्किलसेलेक्टमार्फत दर्ता गरेको एक्स्प्रेशन अफ इन्टरेस्ट दुई वर्षसम्म मान्य हुन्छ। यसबीचमा तपाईंले स्किलसेलेक्टमा दिएको जानकारीमध्ये कुनैमा परिवर्तन भएको छ भने त्यसलाई अद्यावधिक गर्न भने नछुटाउनुहोला।
यस्तै स्कील सेलेक्टमा एक्स्प्रेसन अफ इन्टरेस्ट दर्ता गर्दैमा ब्रिजिङ भिसा नमिल्ने भएकाले टीआरको म्याद सकिन लागेकाहरुले तुरुन्तै अर्को भिषाको लागि आवेदन दिनु उचित हुनेछ ।
पिआर अनुभवीलाई प्राथमिकता दिइन्छ भन्ने हल्ला पनि चलेको सुनिन्छ । यस्तै केही महिनाको अनुभव देखाएर आवेदन दिँदा सम्भावना बढी हुन्छ भन्ने पनि छन् । तर यो पूर्ण रुपमा सत्य भने होइन । तपाईंसँग अनुभव छ भने त्यो देखाउँदा राम्रै हुन्छ । तर प्राथमिकतमा पर्ने नाममा हुँदै नभएको अनुभव देखाउँदा भने यसको परिणाम नराम्रो हुनसक्छ ।
संभावना :
चार हजार जनाको कोटा रहेकाले आशावादी हुने ठाउँ धेरै छ । तर पूर्ण आशावादी भएर बस्नु भने उपयुक्त नहुनसक्छ । त्यसैले अरू वैकल्पिक उपायहरू जस्तै, अंग्रेजीमा सुधारको प्रयत्न, आफ्नै क्षेत्रमा कामको खोजी, अंग्रेजी (नेपाली अनुवादकको परीक्षा आदिको प्रयत्न जारी राख्नु उपयुक्त हुनेछ । यस्तोमा रिजनल स्पोन्सरशिपको लागि पनि आवेदन दिइराख्नु राम्रै हुन्छ ।
यस्तै रिजनल स्पोन्सरशिपको लागि आवेदन दिएकाहरुले पनि स्टेट स्पोन्सरशिप पाउँन सक्छन् । विगतमा केहीले रिजनल स्पोन्सरशिपको लागि आवेदन गरिसकेपछि र केहीले त ४८९ भिषा स्वीक्रित भएपछि पनि स्टेट स्पोन्सरशिपमार्फत पीआर पाएका छन् ।हिमालयन कङ्गारु विशेष








