काठमाडौँ, नयाँ संविधानको विरोधमा दुई महिनादेखि आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ सरकारमा कसलाई सहयोग गर्ने भन्नेबारे आइतबार मात्रै निर्णय गर्ने भएको छ।
मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार बनाउने बारे भोलि बस्ने पार्टीको बैठकले निर्णय गर्ने बताए। ‘भोलि बिहान मोर्चामा आवद्ध दलहरुको बैठक सकिएर मोर्चाको बैठक बसेपछि कसलाई समर्थन गर्ने भन्नेबारे निर्णय गर्छौं‘’ उनले भने ।
मोर्चामा रहेका ५ दलका ३६ जना सांसद रहेका छन्। संघीय समाजवादी फोरम नेपाल (१५)तराई मधेस लोकतान्त्रिक पार्टी (११), सदभावना पार्टी (६), सदभावना पार्टी नेपाल (३) र मधेस समता पार्टीका (१) जना सांसद रहेका छन्।
नेपाली कांग्रेसका केही नेताले आफ्ना उम्मेद्वार सुशील कोइरालालाई मधेसी मोर्चाले सहयोग गर्ने बताएका छन्। विजय कुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले पनि सरकारमा कसलाई समर्थन गर्ने भन्नेबारे निर्णय गरेको छैन्।
आइतबार हुने प्रधानमन्त्रीको निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले उम्मेद्वारी दर्ता गराएका छन्। आइतबार बिहान ११ बजेबाट नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन गर्ने कार्यतालिका छ।








