आजको मन्त्रिपरिषद बैठकको यस्तो महत्वपूर्ण निर्णय

PM-residence-Baluwatarकाठमाडौँ, सरकारले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको आपूर्तिको व्यवस्था सहज बनाउन भारतसँग वार्ता गर्न परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको संयोजकत्वमा समिति गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकद्वारा गठित सो समितिमा मुख्य सचिव डा सोमलाल सुवेदी र वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय छन्।

बैठकले पेट्रोलियम पदार्थ आयात सम्बन्धमा वैकल्पिक उपाय र माग बारेमा अध्ययन गरी सरकारलाई सिफारिस गर्न वाणिज्य तथा आर्पूीमन्त्री सुनिलबहादुर थापा, मुख्य सचिव, अर्थ सचिव र वाणिज्य तथा आपूर्ती सचिव रहेको समिति पनि गठन गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सञ्चारकर्मीलाई जानकारी दिए ।

वैकल्पिक ऊर्जा प्रयोग प्रवद्र्धन र उत्पादनका उपायका बारेमा सरकारलाई सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा विज्ञान, प्रविधि तथा वातावरण सचिव, अर्थ सचिव र ऊर्जा सचिव रहेको समिति गठन बैठकले गरेको उनले जानकारी दिए।

यसैगरी बैठकले महिलाको पाठेघर क्यान्सरको जोखिम नियन्त्रण गर्न आवश्यक जाँचका लागि मुलुकभरका सबै सरकारी अस्पतालमा पाप्समेयर परीक्षण निःशुल्क गर्ने निर्णय गरेको प्रवक्ता डा रिजालले बताए।

बैठकले भूकम्पबाट पूर्ण क्षति भएका आवासको पुनःनिर्माण अनुदान सहायतासम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । बैठकले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा ऊर्जा मन्त्रालयका सचिवलाई नियुक्त गरेको उनले जानकारी दिए ।

द्वन्द्वको समयमा वीरगति प्राप्त गरेका १६४ प्रहरीका आश्रित परिवारलाई यसअघि नै सरकारले गरेको निर्णयअनुसार रु सात लाख ५० हजारमध्ये अपुग रकम यथाशीघ्र निकासा दिने निर्णय गरेको मन्त्री रिजालले जानकारी दिए।

प्रवक्ता रिजालले बैठकले नेसनल ट्रेडिङ लिमिटेडका महाप्रबन्धक पूर्णशङ्कर बिसीलाई हटाई सो पदमा सत्यनारायण मेहतालाई र विद्यार्थी वित्तीय सहयोग विकास समितिको कार्यकारी निर्देशकमा केदारप्रसाद साहलाई नियुक्ती गर्ने निर्णय गरेको जानकारी दिए ।

७६ वर्षको उमेरमा सगरमाथा आरोहण गरेका आरोही मीनबहादुर शेरचनलाई रु तीन लाख आर्थिक सहायता दिने निर्णय बैठकले गरेको छ ।

सम्बन्धित शिर्षकहरु