भौतिक पूर्वाधारको गुणस्तर सुधारमा ध्यान दिउँ – मुख्य सचिव

somlal-subediअसोज १२। काठमाडौँ,  मुख्य सचिव डा सोमलाल सुवेदीले भौतिक पूर्वाधारको गुणस्तर सुधारमा ध्यान नपुग्दा सरकारी एवम् सार्वजनिक निकायमाथि चुनौती थपिएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय सतर्कता केन्द्र र एसियाली विकास बैंकले संयुक्तरुपमा मंगलबार आयोजना गरेको सार्वजनिक तथा सरकारी क्षेत्रका पूर्वाधार परियोजनाको लेखापरीक्षणका विषयमा गरिएको गोष्ठीलाई सम्बोधन गर्दै उनले गुणस्तर निर्माण गर्न सकेमात्र कर्मचारीतन्त्रको साख रहने बताए।

मुख्य सचिव डा सुवेदीले भने – “पूर्वाधार क्षेत्रमा काम गर्ने निकायले गुणस्तरमा ध्यान नदिँदा धेरै प्रश्नको जवाफ दिनुपर्ने भएको छ । पारदर्शीता र गुणस्तरीय निर्माणमा नै कर्मचारीको इज्जत छ, त्यसलाई ध्यान दिनुपर्छ ।”

वित्तीय सुशासन कायम गरिएको छ भन्ने सन्देश दिन सकेमा स्रोतको कमी नहुने र लगानीको वातावरणमा विस्तार हुँदै जाने भएकाले प्रत्येक राष्ट्रसेवकले त्यसमा ध्यान पु¥याउनुपर्नेमा उनको जोड थियो । मुख्य सचिव सुवेदीले प्रविधिको प्रयोग र जिम्मेवारीलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताए ।

राष्ट्रिय सतर्कता केन्द्रका निमित्त सचिव प्रमिलादेवी शाक्यले राष्ट्रिय सतर्कता केन्द्रमा २०६० सालदेखि प्राविधिक लेखापरीक्षण विभाग स्थापना गरी काम हुँदै आएको जानकारी दिँदै त्यसलाई अझै प्रभावकारी बनाएर लैजाने बताए।

एसियाली विकास बैंकका देशीय निर्देशक केनिची योकोयामाले संविधानसभाबाट संविधान जारी भएपछि नेपालमा लगानीका अवसर बढेको उल्लेख गर्दै पूर्वाधार क्षेत्रमा भएका कार्यहरु पारदर्शी एवम् गुणस्तरीय बनाउनुपर्ने बताए ।

केन्द्रका सहसचिव विष्णुराज लामिछानेका अनुसार गोष्ठीले पूर्वाधारको क्षेत्रमा सुशासन एवम् सवलीकरणमा विशेष जोड दिएर आगामी दिनमा अपनाउनुपर्ने रणनीति तयार बनाउनेछ । गोष्ठीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भौतिक पूर्वाधार तथा यातायात, सङ्घीय मामिला तथा स्थानीय विकास, सहरी विकास, ऊर्जा, सिँचाइ मन्त्रालयलगायतका मन्त्रालय एवम् निकायको सहभागिता रहेको छ ।

सम्बन्धित शिर्षकहरु