टीकापुर, प्रधानमन्त्री सुशील कोइरालाले भदौ ७ गते टीकापुरमा भएको घटना र त्यस पछिको अवस्थाकाबारेमा जानकारी लिएका छन्। नेपाली सेनाको हेलिकोप्टरबाट शनिवार टीकापुर पुगेका कोइरालाले राजनीतिक दल, नागरिक समाजलगायतसंग छलफल गरी पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका हुन्।
प्रधानमन्त्री कोइरालाले आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जानेगरी भएको घटना दुखद भन्दै घटनाका दोषीलाई कानूनी कारवाही हुने बताए। उनले घटनामा संलग्न नरहेका निर्दोषलाई कारवाही नहुने कुरामा विश्वस्त रहन आग्रह गरे।
कोइरालाले आपसी सद्भावलाई बिग्रन नदिन सबैले पहल गर्नुपर्ने भन्दै उनले सद्भाव र्याली निकाल्न राजनीतिक दल र नागरिक समाजका अगुवालाई आग्रह गरे। उनले साउन २८ गते टीकापुरमा आयोजित सभामा दुई समुदायकाबीच द्वन्द्व हुनेगरी उत्तेजक अभिव्यक्ति दिनेहरुलाइ कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
सो सभामा अभिव्यक्ति दिने कांग्रेस सभासद अमरेश कुमार सिँहको नामै उल्लेख गर्दै पार्टी सभापति समेत रहेका प्रधानमन्त्री कोइरालाले उनलाइ कुनै हालतमा कारवाही गर्ने बताए।
जारी संविधान सबै राजनीतिक दलको सहमतिको दस्ताबेज भएकाले सबैले स्वीकार गर्नुपर्ने कोइरालाको भनाइ थियो।
प्रधानमन्त्रीसँगै वनमन्त्री महेश आचार्य, सांसद आनन्द ढुंगाना, गृह सचिव सूर्य सिलवाल, सेना प्रमुख राजेन्द्र क्षत्री, प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल लगायत भ्रमणमा सहभागी छन्।








