असोज ५ । पोखरा, एकीकृत नेकपा माओवादीका नेता एवम् सभासद् जनार्दन शर्माले नेपाली जनताको भावना र हितको पक्षमा नयाँ संविधान घोषणा भएकाले यसको विरुद्धमा कसैले पनि देशमा नाकाबन्दी र ताल्चा लगाउन नसक्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता शर्माले देशको हितविरुद्ध र मानवअधिकार हनन हुने खालका काम कुनै नगरिएकाले नेपाली जनताले स्वतन्त्रपूर्वक गरेको निर्णयमा कुनै पनि बाह्य शक्तिको हस्तक्षेप हुन नसक्ने धारणा राखे ।
नयाँ संविधानमा उल्लेख भएका धाराको व्याख्या गर्दै गर्यौं भने अहिले असन्तुष्ट रहेका मधेसी र जनजाति पनि समझदारीमा आउने विश्वास व्यक्त गर्दै उनले बन्दुक हानेर मात्रै समस्याको समाधान नहुने भएकाले आन्दोलनरत पक्ष वार्तामा बसेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए।
उनले अहिले नेपाली युवामा राष्ट्रवादी भावना बढ्दै गएकोमा खुसी व्यक्त गरे। सो कार्यक्रम सङ्घका अध्यक्ष त्रिभुवन पौडेलको सभापतित्वमा भएको थियो ।








