काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानमा जनताका हक अधिकार ऐनाजस्तै छर्लङ्ग भएको बताएका छन्। ।
नेपालको संविधान, २०७२ कोे स्वागतमा आज टुँडिखेलमा आयोजित विजयोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानले मुलुकलाई आधुनिक र विकसित बनाउने मार्ग प्रशस्त गरेको तथा राष्ट्रिय एकतालाई विशेष जोड दिएको उल्लेख गरे ।
उनले भने “अब जनताका विकासका सपना र आकाङ्क्षालाई संविधानको कार्यान्वयनमार्फत हामी पूरा गर्न सक्छौँ । त्यसकारण यो संविधान सबैका निम्ति हो । हामी खुसियालीसाथ कार्यान्वयनमा जुट्नुपर्छ ।”
प्राकृतिक रुपले सुन्दर र सम्पन्न देशलाई आधुनिक, उन्नत, विकसित र सुखी बनाउने उद्देश्य राखेर जनप्रतिनिधिले संविधान बनाउन खोज्दा आएका अनेक प्रकारका बाधा अड्चनलाई पन्छाउँदै र नाघ्दै संविधानसभा संविधान जारी गर्न सफल भएको अध्यक्ष ओलीले बताए ।
उनले भने – “सामन्ती राजतन्त्रात्मक सत्ताले जनतालाई फुटाएर र जनतालाई अशिक्षित तथा अविकसित बनाएर राखेको थियो । संविधान जारीसँगै अब हामी वास्तविक रुपमा सार्वभौम जनता भएका छौं ।”
संविधानले पछाडि परेका समुदायलाई अगाडि ल्याउन विशेष नीति र विभिन्न समुदायको विकासका लागि संवैधानिक आयोग गठनको व्यवस्था गरेको जनाउँदै अध्यक्ष ओलीले हिमाल, पहाड र तराईका सबै भूभागलाई विकासको मूलधारमा ल्याउन पनि संविधानले आधार खडा गरेको दावी गरे ।
लोकतान्त्रिक आन्दोलनका क्रममा पुष्पलाल, बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, मदन भण्डारी, गिरिजाप्रसाद कोइरालालगायतको योगदानको स्मरण गर्दै उनले नयाँ संविधान लोकतान्त्रिक संविधान हो भने ।
अध्यक्ष ओलीले केन्द्र, प्रदेश र स्थानीय निकायका बीचमा शक्तिको बाँडफाँड, आवधिक निर्वाचन, बालिग मताधिकार, समान हक, सुरक्षा र सम्मान तथा असंलग्न परराष्ट्र नीतिलाई संविधानमा अङ्गीकार गरिएको बताए।
संविधानमा देखिएका असन्तुष्टिलाई वार्ताबाट सम्बोधन गर्न सकिने बताउँदै उनले भावनामा नबग्न पनि असन्तुष्ट पक्षलाई आग्रह गरे । उनले भने – “तराई र थारु क्षेत्रका कुनै समस्या वा माग भए बसेर छलफल गरी संविधान संशोधन गरेर जान सकिन्छ ।”
आफू लोकतन्त्रकै लागि लामो समय जेल बसेको स्मरण गर्दै ओलीले भने – “संविधानमा चित्त दुखाउनु दुःखद कुरा हो । संविधान अपरिवर्तनीय र असंशोधनीय दस्तावेज होइन, यसमा आत्तिनु वा असन्तुष्ट हुनुपर्ने कारण छैन । यसमा खुसियाली मनाऔँ, आउनोस्, बसौँ, सबै जायज माग सम्बोधन गर्न सकिन्छ । लोकतन्त्रमा जनताका जायज माग नसुन्ने भन्ने हुनै सक्दैन ।”
उनले भने – “स्वाभिमानी नेपाली आफ्नो स्वाभिमान कायम राखेर छिमेकी मुलुकसँग मित्रता कायम गर्न चाहन्छ ।” भारतविरुद्ध नेपालीहरुले सोच्न पनि नसक्ने भएकाले भारत सरकारले त्यही रुपमा बुझ्नुपर्ने उनको भनाइ थियो ।
“संविधान बनाउन ढिलो गरौँ भन्ने आवाज नआएको होइन तर आठ वर्ष भइसक्दा पनि सङ्क्रमणकाल लम्ब्याएर कति राख्ने ?,” उनले भने– “नेपालको विकास, एकता, राष्ट्रिय भावना र अग्रगामी सोचका साथ संविधान आएको छ, यसको स्वागत गरौँ ।”
उनले संविधान जारी भएकामा सबै दल र नेपाली जनताप्रति कृतज्ञता ज्ञापन गर्दै जनता र राष्ट्रको सेवामा आफू सदैव समर्पित रहने विश्वास पनि दिलाए।


![ljz]if :jfut ;df/f]x ;}lgs d~r 6'Fl8v]ndf gofF ;+ljwfg hf/L ePsf] v'l;ofnLdf cfof]hgf ul/Psf] ljz]if :jfut ;df/f]xdf k|wfgdGqL ;'zLn sf]O/fnf, g]skf -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL / PsLs[t g]skf -dfcf]jfbL_sf cWoIf k'iksdn bfxfn nufotsf zLif{ g]tfx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2015/09/1442827637620_RoS-Ktm-Tundikhel-4-300x200.jpg)





