असोज १ । काठमाडौँ, आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजाआजा गरी मनाउँदैछन् ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा भेद द्वारका बनाई लुकाएको धार्मिक विश्वास रहिआएको छ । एकै रातमा समुद्रको बीचमा भेद द्वारकाको निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा चल्दैआएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको भेद द्वारका अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ ।
यसैको सम्झनामा नेपालका कालीगढहरुले आज भव्य रुपमा विश्वकर्मा बाबाको पूजाआजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण विकास हुने विश्वासका साथ विश्वकर्माको पूजाआजा गर्ने गर्दछन् ।
आजको दिनलाई वास्तु दिवसका रुपमा समेत मनाउने चलन छ ।








