मध्यपश्चिमको सुरक्षा व्यवस्था कडा पार्न क्षेत्रीय प्रशासकको निर्देशन

truck-final-finalदाङ, मध्यपश्चिमका क्षेत्रीय प्रशासक विजयकुमार मल्लिकले संविधान जारी हुने समय नजिकिएको भन्दै उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिएको छ । दाङमा मङ्गलबार आयोजना गरिएको साक्षात्कारमा उनले संविधान जारी हुनुअघि र पछिको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिनु भएको हो ।

कार्यक्रममा क्षेत्रीय प्रशासक मल्लिकले मध्यपश्चिमका १५ वटै जिल्लाको सुरक्षा अवस्था अहिले सदृढ रहेको बताए। उनले मध्यपश्चिमका तराईका जिल्ला दाङ, बाँके र बर्दिया सुरक्षाका दृष्टिकोणले अति संवेदनशील रहेपनि अहिले प्रहरी नियन्त्रणमै रहेको बताए ।

मल्लिकले आन्दोलनमा घुसपैठ हुनसक्ने भन्दै त्यसलाई समेत नियन्त्रण गर्ने गरी प्रहरी परिचालन गरिएको जानकारी दिए। संविधानको मस्यौदा सार्वजनिक भएपश्चात् मध्यपश्चिमका सुर्खेत र जुम्लामा केही धनजनको क्षति भएपनि अन्य जिल्लाको सुरक्षा अवस्था सन्तोषजनक रहेको बताए ।

साक्षात्कारमा क्षेत्रीय प्रहरी प्रमुख नायब प्रहरी महानिरीक्षक केशव अधिकारीले शान्तिसुरक्षामा खलल आउन नदिन प्रहरी सचेत रहेको बताए । उनले संविधान जारी हुने दिन असोज ३ गतेलाई मध्यनजर गर्दै जिल्लाको शान्तिसुरक्षाको अवस्था कडा पार्न आफूले मातहतका निकायलाई निर्देशन दिइसकेको बताए ।

उनले प्रहरी जहिले पनि आम नागरिकको सुरक्षाका लागि संवेदनशीलताका साथ लागिपरेको तर त्यसो हुँदैगर्दा प्रहरीमाथि नै आक्रमण हुन थालेपछि प्रहरी आत्मसुरक्षाका लागि चुप लागेर नबस्ने बताए । उनले भने, “हामी जनताको सुरक्षाका लागि सचेत छौँ । तर हामीमाथि नै आक्रमण हुन थाले आत्मरक्षाका लागि टुलुटुलु हेरेर कदापि बस्दैनौँ ।”

संविधानको प्रारम्भिक मस्यौदा जारी भएपछि अहिलेसम्मको अवधिमा मध्यपश्चिममा भएका आन्दोलनका क्रममा प्रहरी र सर्वसाधारण गरी ६ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार आन्दोलनका क्रममा ६८ जना घाइते भएको तथा ३२ वटा सवारीसाधनमा तोडफोड गरिएको छ ।

यसैगरी, ४१ सरकारी र दुईवटा निजी गरी ४३ वटा भवनमा क्षति पुगेको छ । क्षेत्रीय प्रशासक मल्लिकसहित नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक अधिकारी, राष्ट्रिय अनुसन्धानका प्रहरी नायब महानिरीक्षक यतिराज पँगेनी र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक सुबोध अधिकारी जिल्लाको बस्तुस्थिति बुझ्न दाङ आएका हुन् ।

सम्बन्धित शिर्षकहरु