सिन्धुपाल्चोकमा टीएलसी बनाउन रोक

tlcसुन्दर शिरीष, भदौ २० । चौतारा,  विद्यालय क्षतिग्रस्त विद्यालय निर्माण गर्ने भन्दै अहिले थुप्रै एनजीओ आइएनजीओहरु भित्रिएका छन् । तर, उनीहरुले कुनै काम गर्न नसकेको आरोप लाग्दै आएको छ ।

भूकम्प पछि ध्वस्त भएका जिल्लाका ५ सय ४७ वटा विद्यालयका ४ हजारभन्दा वढी भवन निर्माणका लागि ५१ वटा संघ–संस्थाहरुले जिम्मेवारी लिएका थिए । तर शिक्षा क्षेत्रको सरकारी निकाय जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले उनीहरु असफल भएको ठहर गरिसकेको छ ।

अस्थायी टहरा निर्माणको जिम्मेवारी लिएका संघ संस्थाहरुले तोकिएको समयमा अस्थायी टहरा निर्माण गर्न नसकेपछि अब अस्थायी टहरा निर्माणको कुनै अर्थ नभएको जनाउदै जिल्ला शिक्षा कार्यालयले अस्थायी टहरा निर्माणमा रोक लगाए पछि संघ संस्थाको कार्याशैली प्रति प्रश्न खडा भएको हो । वर्षात्को समय सक्नै लागेकाले अस्थायी टहरा निर्माणको कुनै अर्थ नभएको र अब स्थायी संरचना निर्माणमा जुट्नु पर्ने जिल्ला शिक्षा कार्यालयको भनाई छ ।

अस्थायी टहरा निर्माणका लागि बेटास फाउण्डेशन, चाइल्ड फण्ड, क्यारिटस नेपाल, क्यारिटस स्वीजरल्याण्ड, चाईल्ड फण्ड जापान, क्रिष्टिन एड मिनिष्ट्रज, जीएमएसपी, हैबुङ्ग युथ, हेलम्बु एजुकेशन एण्ड लाईभहुड, किरडाक, प्लान इन्टरनेशनल, सेफ द चिल्ड्रेनलगायतका संघ संस्थाहरु जिल्ला आए पनि उनीहरु असफल भईसकेको शिक्षा कार्यालयले जनाएको हो ।

‘हाम्रो विद्यालय हामी आफैं बनाउँछौं’, जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले भने– ‘संघ संस्थाको गतिविधिले हामीलाई अफ्ट्यारो पारिसक्यो ।’ भवन बनाउँछु भन्दै संघ संस्था थुप्रिने तर काम नगर्ने गरेकोले अस्थायी टहरा निर्माणमा रोक लगाएको उनले जनाए ।

स्थायी टहरा निर्माणको जिम्मेवारी लिएका संघ–संस्थाहरुले अस्थायी टहरा निर्माणमा लागेको विद्यालयगत खर्च विवरण पेश गर्न नसकेको जनाउँदै र आगामी २४ गते जिल्ला दैवीप्रकोप समितिको बैठकमा अनिवार्य रुपमा आर्थिक विवरण पेश गर्न जिल्ला शिक्षा कार्यालयले पत्रचार समेत गरेको जनाएको छ । भूकम्पले भवन ध्वस्त भएको विद्यालयहरुमा अस्थायी टहरा निर्माणको जिम्मेवारी लिएका संघ–संस्थाहरुले काम गर्न नसकेपछि अधिकाँश विद्यालयहरुले एउटै कक्षाकोठामा बहुकक्षा संचालन गर्नु परेको जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालयसँग च्वाईस नेपाल नामक संस्थाले १६ वटा विद्यालयमा टेण्टको व्यवस्था गर्ने सम्झौता गरेको तर कुनैपनि विद्यालयमा टेण्ट उपलब्ध नगराएको शिक्षा कार्यालयले जनाएको छ । विभिन संघ–संस्थाहरुले जिल्लामा अस्थायी टहरा, शौचालय, खानेपानीको व्यवस्था, शैक्षिक सामग्री जस्ता विविभन्न १३ किसिमका सहयोग सामाग्री उपलब्ध गराउने सम्झौता गरेका थिए ।

भूकम्प प्रभावित विद्यालयहरुमा अस्थायी टहरा निर्माण गर्न नसकेपछि जिल्ला शिक्षा कार्यालयले हालै जिम्मेवारी लिएका ५१ वटा संघ–संस्थाहरु बोलाएर अन्तरक्रिया कार्यक्रम गरे पनि जम्मा १७ वटा मात्र संस्था सहभागी भएको जनाईएको छ । शिक्षा कार्यालयले भनेको छ– ‘गर्छु भनेको काम पनि गरेनन् र समिक्षा बैठकमा समेत सहभागी भएन ।’

रभ्यू एण्ड लेसनलर्न वर्कसप एजुकेशन क्लष्टर विषयक उक्त कार्यक्रममा अस्थायी टहरा निर्माणको जिम्मेवारी लिएका संस्थाहरुले बिनासंकोच प्रगति विवरण पेश गर्दै लक्ष्य बमोजिम कार्यक्रम सम्पन्न गर्न नसक्नुमा अनेक बहाना रचेका शिक्षाका अधिकारीहरुको भनाई छ । जिल्लाको विभिन्न भागमा कार्यक्षेत्र तोकी जिम्मेवारी लिएका संघ–संस्थाहरुले व्यापक अनियमितता गरेको स्थानीयले आरोप समेत लगाउँदै आएका छन् ।

अस्थायी टहरा निर्माणको जिम्मेवारी लिएका संघ–संस्थाहरुले जिम्मेवारी पूरा नगरेको र अस्थायी टहरा निर्माण गरेका संघ–संस्थाहरुले पनि आर्थिक पारदर्शिता अपनाउन नसकिएको शिक्षा अधिकारी पुरी बताउँछन् । अस्थायी टहरा निर्माण लगायतका विविभन्न भौतिक संरचना निर्माणको जिम्मेवारी लिएका संस्थाहरुले विद्यालयगत खर्च विवरण पेश गर्न नसकिएको जनाएको छ ।

भूकम्पले भौतिक संरचना ध्वस्त भएको जिल्लाको विकट वस्तीस्थित गोल्चे, तातोपानी, फुल्पिङकट्टी र घोर्थली गाविसमा अस्थायी टहरा निर्माणका लागि कुनै संस्था नगएकाले उक्त गाविसका विद्यालयको अवस्था अत्यन्तै नाजूक रहेको समेत शिक्षा कार्यालयले जनाएको छ । शिक्षा कार्यालयका एक अधिकारीको अनुसार अहिले काम नगर्ने संस्थाहरुको सूचि तयार गरी त्यस्था संस्थालाई काम नर्गन पत्राचार गर्ने काम भईरहेको छ ।

सम्बन्धित शिर्षकहरु