भदौ १४ । बुटवल, प्रहरी अनुशासन र आचरण विपरीत काम गर्ने सात प्रहरी विरुद्ध इलाका प्रहरी कार्यालय बुटवलले अनुशासनको कारबाही सुरु गरेको छ ।
अरुलाई अनुशासन र आचरणको पाठ सिकाउने प्रहरी आफैँ आचरण विपरीत काम गर्न नहुने भन्दै प्रहरी युनिटभित्रै शुद्धीकरणको अभियान सुरु गरेको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले जानकारी गराए।
आफ्नो युनिट इलाका प्रहरी कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत प्रहरीलाई अनुशासन र आचरणमा रहेर काम गर्न पनि उनले आग्रह गरेका छन् ।
प्रहरी आचरण र अनुशासनमा रहेर काम नगर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याउने उनले बताए।
आइतबार बुटवलमा क्रियाशील पत्रकारसँग भेटघाट तथा परिचयात्मक कार्यक्रममा पत्रकारले बुटवटको शान्ति सुरक्षा, यहाँको लागुऔषध कारोबारको बढ्दो समस्या, सो कार्यालयको सूचना प्रणाली चुस्त बनाउन सुझाव दिएका थिए ।







