अफगानिस्तानलाई हराउँदै नेपाल यु १९ साफ फुटबलको फाइनलमा

saff-u-19भदौ १०। काठमाडौँ, अफगानिस्तानलाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपाल उन्नाइस वर्षमुनि ९यु–१९० को पहिलो साफ पुरुष फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको सेमिफाइनल खेलमा नेपाललाई जित दिलाउन अञ्जन विष्टले दुई गोल गरे । अञ्जनले ३४ र ३९ औँ मिनेटमा गोल गर्दै नेपाललाई मध्यान्तरअघि नै २–० को अग्रता दिलाएका थिए । तर, मध्यान्तरपछिको लगत्तै ५० औँ मिनेटमा नेपालका अनन्त तामाङबाट आत्मघाती गोल भएपछि अफगानिस्तानले खेलमा फर्कने सङ्केत देखायो ।

सुनिल बलले ५२औँ मिनेटमा गोल थपेपछि नेपालले ३–१ ले अग्रता लियो । पुनः दुई गोलले पछि परेपछि पनि खेलमा फर्कने प्रयास गरेको अफगानिस्तानका लागि मेहबिरेजायीले ७२औँ मिनेटमा गोल गरे पनि जितका लागि पर्याप्त भएन । नेपालले अधिकांश समय खेल नियन्त्रणमा लिएको थियो ।

खेलपछि पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उपाधि जितेमा प्रत्येक खेलाडीलाई जनही रु एक लाखको दरले नगद पुरस्कार दिने घोषणा गरे। उनले भने– “तपाईंहरुको योगदानको कदर गर्न सरकार तयार छ ।”

नेपाली प्रशिक्षक बालगोपाल महर्जनले आफ्ना खेलाडीले राम्रो खेलेको प्रतिक्रिया दिँदै भने – “अबको हाम्रो लक्ष्य उपाधि जित्ने नै हो । अफगानी प्रशिक्षक साहेव राजवले नेपाल बलियो टोली भएकाले जितेको प्रतिक्रिया दिए ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलअन्तर्गत अहिले भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । यो खेलको विजेतासँग नेपालले शनिबार फाइनल खेल्नेछ ।

सम्बन्धित शिर्षकहरु