भदौ १ । सप्तरी, मधेश आन्दोलन हिंसात्मक बन्दै छ । सीमांकनका विषयमा असन्तुष्ट मधेश केन्द्रित दलहरुले सुरु गरेको अनिश्चितकालिन बन्द नियन्त्रण बाहिर जान थालेको हो । गाडी स्कर्टिङ गर्ने क्रममा सप्तरी भारदहमा बन्दकारी र प्रहरीबीच झडप हुँदा भारदह–१ का २४ वर्षीय राजीव राउतको मृत्यु भएको छ। प्रहरीको गोली लागि राजीव राउतको मृत्यु भएको हो।
उनको बायाँ छातीमा गोली लागेको थियो। प्रहरीले र प्रदर्शनकारी जारी झडपका कारण स्थिति तनावग्रस्त रहेको पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ। संयुक्त मधेसी मोर्चाले गाडी स्कर्टिङमा अवरोध पुर्याउँदै भारदह प्रहरीका तीन वटा गाडी तोडफोड र पेट्रोल बम प्रहार गरेपछि प्रहरीले गोली चलाएको प्रहरीले जनाएको छ।
झडपका क्रममा प्रहरीले सात राउण्ड फायर र २५ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। यही क्रममा राजीवलाई गोली लागेको प्रहरीले जनाएको छ। गाडी सञ्चालनमा बाधा पुर्याउँदै प्रदर्शनकारीले भारदह प्रहरी चौकीमा ढुंगामुढा र प्रहरीको भ्यानमा पेट्रोल बम प्रहार गरी आगजनी गरेपछि गोली चलाइएको पूर्वक्षेत्रीय प्रहरी प्रमुख डिआईजी माधव जोशीले बताए।
घटनामा आधा दर्जन प्रहरी र त्यति नै प्रदर्शनकारी घाइते छन्। घाइतेमध्ये गम्भीर रहेका चार जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। प्रहरीले सोमबार राति बलपूर्वक गाडी स्कर्टिङ गरेको थियो।
मंगलबार बिहान पनि सोही प्रकारले गाडी खुलाउने प्रयास गर्दा प्रदर्शनकारी कडा रुपमा प्रस्तुत भएका थिए। यसैबीच कपिलवस्तुमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको बताइएको छ । झडपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउण्ड अस्रु ग्यास प्रहार गरिरहेको छ । यस्तै सप्तरीमा आन्दोलन उर्लिएपछि प्रशासनले साँझ ४ बजे देखि भोली विहान ७ बजे सम्म कर्फ्यू आदेश जारी गरेको छ । तर आन्दोलनकारीहरु सडकमा लाठा, भाला, भाटा सहित प्रदर्शन गरिरहेका छन् ।








