साउन ३०। काठमाडौँ, एमाले नेता माधवकुमार नेपालले जनताका जायज मागहरूको सुनुवाई हुनुपर्ने धारणा राखेका छन् । राजधानीको जोरपाटीमा इष्टपोल स्कूल र अन्य स्थानीय संघसंस्थाहरुले निर्माण गर्न लागेको पार्क एवम् प्रतिक्षालयको शिलन्यास गर्दै नेता नेपालले जनताका राम्रा मागहरूको तथा मुद्दाहरूको सुनुवाई गर्न कञ्जुस्याईं गर्न नहुने बताएका हुन् । कार्यक्रममा नेता नेपालले भने, ‘संविधानमा सवैको भावनाको प्रतिनिधित्व हुनुपर्दछ ।
सवैले आफ्नो संविधान हो भन्न पाउनु पर्दछ । त्यसका लागि अहिले सुर्खेत, डोटी, जुम्ला, नवलपरासी लगायतका ठाउँमा भएका आन्दोलनमा व्यक्त भावना संविधानमा सकेसम्म समावेश गरिनु पर्दछ ।’
उनले सवैका भावना समेटेर अबको दुई हप्ता भित्रमा संविधान जारी हुने स्पष्ट पारे । ‘हामी भदौ दोस्रो हप्ता भित्रमा संविधान जारी गर्ने गरी तयारी गरिरहेका छौँ’, शिलन्यास कार्यक्रममा नेता नेपालले थपे, ‘संविधानमा जनताले उठाएका उचित मागहरूको सम्बोधन गरिनु पर्दछ ।

त्यस्तै कार्यक्रममा काठमाडौँ क्षेत्र नं. ३ का सभासद् रामेश्वर फुयालले पनि जनताको संविधान छिट्टै जारी हुने विश्वास व्यक्त गरे । ‘हामी दशकौँ देखिको जनचाहना मुताविक आफ्नो संविधान आफैँ घोषणा गर्ने बाटोमा अघि बढेका छौँ,’ उनले भने, ‘अबको केही दिनमै जनताको संविधान जारी गर्छौं । उनले अव बन्ने संविधानमा लिंग पहिचानको आधारमा भु्रण हत्या गर्न नपाईने प्रावधानलाई कडा बनाउन आफू लागि परेको बताए ।
‘यसैगरी लिङ्ग पहिचान गर्दै स्त्री भु्रण हत्या गर्दै जाने हो भने समाज अघि बढ्न सक्दैन’ उनको भनाई थियो । त्यस्तै उनले २१ सालको नापीका आधारमा बागमती नदीमा परेका जग्गाहरूको क्षतिपूर्ती राज्यले दिनु पर्ने भन्दै लालपुर्जा आफूसँग तर जग्गा खोलामा परेकाले केही स्थानीयहरू ठूलो अन्यायमा परेको दावी गरे । ‘२१ सालको नापी अनुसार खोलो फर्काइनु पर्दछ । खोलामा परेका जग्गाको उचित क्षतिपूर्ती राज्यले दिनु पर्दछ । यसका लागि पीडितहरू चुप लागेर बस्नु भएन । यसको अगुवाई गर्न म तयार छु र गरिरहेको छु’ कार्यक्रममा उनले भने ।
त्यस्तै कार्यक्रममा काठमाडौँ क्षेत्र नं.२ का सभासद् दीपकप्रसाद कुईंकेलले २००७ साल देखिको जनचाहना पूर्ति हुन लागेको दावी गरे । ‘हामी खुसीका साथ यहाँहरूलाई यो कुरा भन्दैछौँ कि अब हामी केही दिनमै नयाँ संविधान जारी गर्दैछौँ,’ उनले भने’ ‘सवैका भावनालाई समेटेर नयाँ संविधान निर्माण हुन्छ ।’
त्यस्तै उनले संविधान जनअधिकारको रक्षाका लागि बाधक बन्न नहुने बताउँदै त्यसले राष्ट्र विकासको भावना बोक्नु पर्नेमा पनि जोड दिए । कार्यक्रमा एमाले केन्द्रीय लेखा आयोग सदस्य गोपालप्रसाद बराल, एमाले काठमाडौँका अध्यक्ष कृष्ण राई, इष्टपोल स्कूल व्यवस्थापन समितिका अध्यक्ष रोहिणी चौलागार्ईं, स्कूलका प्राचार्य राजेश राई लगायतले आफ्ना धारणा राखेका थिए ।
त्यस्तै कार्यक्रममा स्थानीय उपभोक्ता समिति र स्कूलका विद्यार्थी एवम् अभिभावकहरूको खचाखच उपस्थिति थियो ।








